मिथिलाञ्चालमा झिझिया लोकनृत्य सुरु (भिडियो रिपोर्टसहित)

२०८० असोज २९ गते १७:४०
मिथिलाञ्चालमा झिझिया लोकनृत्य सुरु (भिडियो रिपोर्टसहित)

२९ असोज २०८० सिरहा । पहाडमा बसोबास गर्ने हिन्दूहरुले दशैं मनाइरहँदा तराईका विभिन्न समुदायले आफ्नो परम्पराअनुसारको चाड मनाउँदैछन् ।

मिथिलाञ्चालमा झिझिया लोकनृत्य सुरु भएको छ । दशैंका बेला नाचिने यो लोकनृत्य तान्त्रिक विधिअनुसार नाचिन्छ ।

यो मिथिला क्षेत्रको प्रमुख लोकनृत्य झिझिया हो । मिथिला क्षेत्रमा झिझिया नृत्यले नवरात्री महोत्वसको आकर्षण बढाउँदै आएको छ । घटस्थापनादेखि विजयादशमीसम्म देवी स्तुतिको रुपमा यो नृत्य गरिन्छ।

सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास छ। जादु, टुनामुना, बोक्सीलगायतको प्रभाव कम गर्न यो अनुष्ठान प्रारम्भ भएको मानिन्छ । प्राचीनकालमा मिथिलामा बोक्सी, भूतप्रेतको अत्यन्तै प्रकोप हुने मान्यता रहँदै आएको थियो ।

बोक्सीले आफ्नो तन्त्र सिद्धि अर्थात शक्ति प्राप्त गर्ने समय नै दशैं हो भन्ने विश्वासमा शक्ति क्षिण गर्नका लागी यो नृत्य गरिएको जनविश्वास छ । नृत्य गर्दै गरेको अवस्थामा घैटोका प्वालहरू बोक्सीले गन्न सफल भए नृत्याङ्गनाको मृत्यु हुने मान्यताले गर्दा नृत्यको समयमा उनीहरू स्थिर हुँदैनन् ।

समाजमा बोक्सीको उपस्थिति रहेको भन्दै सातौं–आठौं शताब्दीतिर बोक्सीको प्रतिकार गर्ने उद्देश्यले झिझिया नृत्यको सुरुवात गरेको अनुमान छ । मिथिलाका पर्वहरुमा वैदिक, तान्त्रिक र लोक परम्परा हुने गरेको जानकारहरु बताउँछन ।

यो नृत्य मिथिला र भोजपुरी क्षेत्रका महिलाहरूद्वारा प्रदर्शन गरिन्छ जुन वर्तमान समयमा भारतीय राज्य बिहार र नेपालको मधेश प्रदेशमा चलनमा छ ।

दशैंको पहिलो दिन तीर्थस्थलमा नाचगान गरेपछि औपचारिक रूपमा झिझिया सुरु हुन्छ। बोक्सीलाई आधार मानेर संस्कृतिलाई निरन्तरता दिनु अन्धविश्वास हो । तर नृत्यमा प्रदर्शन गरिने कलालाई रुपान्तरित समाजमा परिस्कृत गर्दै अगाडि बढ्दा झिझिया नृत्यको महत्व अझ बढ्ने संस्कृतिविद् बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *