सिंजा राज्यको सभ्यता र पहिचान मेटिने अवस्थामा (भिडियो रिपोर्टसहित)

२०८० साउन २३ गते १४:११
सिंजा राज्यको सभ्यता र पहिचान मेटिने अवस्थामा  (भिडियो रिपोर्टसहित)

२३ साउन २०८० मुगु । पृथ्वीनारायण शाहले एकीकरण गर्नुपूर्व बाइसे–चौबीसे राज्यको केन्द्र तथा शक्तिशाली थियो, सिंजा राज्य । नेपाली खस भाषा तथा विकसित नेपाली भाषाको उद्गमस्थल पनि सिंजा नै हो ।

नेपाली भाषा, सभ्यता, संस्कृति, संस्कार पनि सिंजाले नै जन्माएको थियो । शक्तिशाली सिंजा राज्यसँगै विश्वका विभिन्न सभ्यतामध्ये यो सभ्यता पनि महत्वपूर्ण मानिन्छ । तर, अहिले सिंजा राज्यको पहिचान मेटिन थालेको छ ।

जुम्लाको सिंजा उपत्यकालाई नेपाली भाषाको उद्गमस्थल मानिन्छ । सांस्कृति, ऐतिहासिक र प्राकृतिक रुपमा महत्वपूर्ण सिंजा अहिले जीर्ण छ । नेपाली भाषा, सभ्यता, संस्कृति, संस्कार जन्माएको सिंजामा परापूर्वकालमा बनेका मठमन्दिर, गुफालगायत संरचना संरक्षणको पर्खाईमा छन् । पाँच पाण्डवले गुप्तबास बसेको पाण्डु गुफा यहीँ छ । अनेकौं पुरातात्त्विक सम्पत्ति र धरोहर भए पनि संरक्षणको पहल नभएको स्थानीयको गुनासो छ ।

सिंजाको अर्को चर्चित स्थान हो, कनका सुन्दरी मन्दिर । तत्कालीन खस राजाको ईष्ट देवी मानिने यो मन्दिरलाई महादेवका पत्नी सतिदेवीको तल्लो ओठ पतन भएकोले जलपादेवी मन्दिर समेत भन्ने गरिन्छ ।

अहिले बोलीचालीमा रहेको भाषा अर्थात् खस भाषाको उद्गमस्थल सिञ्जालाई नै मानिन्छ । तर ऐतिहासिक लिखत दस्तावेज राज्यले संरक्षण गर्न सकेको छैन । गाउँपालिकाले यसको संरक्षणको पहल गरे पनि पर्याप्त हुन नसक्ने गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यको स्वीकारोक्ति छ ।

ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वको सिंजा सभ्यता लोप हुने अवस्थामा छ । रारा ताल पुग्नका लागि यही सिंजा उपत्यका हुँदै जानुपर्छ । पछिल्लो समय रारा पुग्ने पर्यटकको संख्या बढिरहेको छ । सिंजामा रहेका ऐतिहासिक सम्पदाहरुको जीर्णेद्धार गर्ने हो भने पर्यटकलाई आकर्षित गर्न सकिन्छ । यसले संस्कृति र सभ्यताको प्रचार र संरक्षणमा सहयोग पुग्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *