६ दशकमा पनि स्तरोन्नति हुन नसकेकाे जरुङ सिम्टार आधारभूत विद्यालय (भिडियो रिपोर्टसहित)

२०८० साउन २० गते १७:४८
६ दशकमा पनि स्तरोन्नति हुन नसकेकाे जरुङ सिम्टार आधारभूत विद्यालय (भिडियो रिपोर्टसहित)

२० साउन २०८० धादिङ । एउटा विद्यालयको स्तरोन्नति हुन कति वर्ष लाग्ला रु सामान्य रुपमा आउने जवाफ हो–५–१० वर्ष । तर धादिङको श्री जरुङ सिम्टार आधारभूत विद्यालयले स्थापनाको ६ दशकपछि कक्षा आठसम्मको पठनपाठन थालेको छ । तैपनि विद्यार्थी चिसो भुँइमा बसेर पढ्न बाध्य छन् ।

विक्रम सम्वत २०२१ सालमा धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका वडा नम्बर १ केही अगुवाको पहलमा विद्यालयको स्थापना भयो । खुला चौरबाट पठन पाठन सुरु गरिएको श्री जरुङ सिम्टार आधारभूत विद्यालयले ६ दशक यात्रा तय गरिसकेको छ । स्थानीय जेष्ठनागरिक विद्यालयको शुरुवाती दिन अहिले पनि सम्झिरहेका छन ।

वर्षौ पछि स्तरोन्नति भएर कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा अहिले एक सय ५५ जना विद्यार्थी भर्ना भएका छन । नियमित विद्यालय आउने विद्यार्थीको संख्या सवा सय हाराहारी हुन्छ । गत बैशाखमा प्रधानाध्यापक नियुक्त भएका वीरबहादुर तामाङ्गले विद्यालयमा कम्युटर र प्रिन्टरको व्यवस्था मिलाउनुभयो ।

तामाङ्ग समुदायको बाहुल्यता भएको गाउँमा एक जनाबाहेक सबै विद्यार्थी तामाङ्ग छन् । प्राय विद्यार्थीहरु आफ्नो मातृ भाषा बोल्छन् । शिक्षकलाई भाषाका कारणले विद्यार्थीसँग संवाद गर्नै कठिन छ तर बानी पर्दै गएकाले अहिले पठनपाठनमा सहज हुँदै गएको र शैक्षिक गुणस्तरमा सुधार भइरहेको शिक्षकको दाबी छ ।

विद्यालयको स्तरउन्नती गरि कक्षा ८ सम्म बनाइएपनि अझै पनि भौतिक पूर्वाधारको कमी छ । भवन, कक्षा कोठा र फर्निचरको अभाव झेल्दै आएको विद्यालयमा एउटै कोठामा दुई कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ । विद्यार्थी अहिले पनि चिसो भुईमा बसेर पढन बाध्य छन् ।

यो विद्यालयसहित बेनीघाट रोराङ–१ मा रहेका आठ वटा विद्यालयले भौतिक पूर्वाधार तथा स्रोत साधनको अभाव झेलिरहेकै छन् । वडाका विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, आवश्यक भौतिक पूर्वाधारहरुको निर्माण तथा स्रोत साधन व्यवस्थापनका लागि पहल जारी रहेको जनप्रतिनिधि बताउँछन ।

विद्यालयको शैक्षिक अवस्था सुधारका लागि ओठे प्रतिबद्धताभन्दा व्यवहारिक पक्ष महत्वपूर्ण छ । त्यसमा सरोकारवाला सबैको ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *