मधुश्रावणी पर्वको मिथिलाञ्चलमा आफ्नै मौलिकता (भिडियो रिपोर्टसहित)

२०८० असार २९ गते १८:२१
मधुश्रावणी पर्वको मिथिलाञ्चलमा आफ्नै मौलिकता (भिडियो रिपोर्टसहित)

२९ असार २०८० धनुषा । नवविवाहिता महिलाको पवित्र पर्व मधुश्रावणी मिथिलाञ्चलमा धुमधामका साथ मनाइँदैछ । तराई मधेश र खास गरि मिथिलाञ्चलमा १५ दिन सम्म मनाइने मधुश्रावणी पर्वको १४ दिन रमझममा बित्ने भएपनि पर्वको अन्तिम दिन ब्रतालुका लागि पीडादायी रहन्छ ।

साउन महिनामा सोह्र श्रृङ्गार गरेकी नवविवाहिता ब्रतालु १४ दिनसम्म फूलबारीमा फूल बटुल्ने, फूलबारीमा परिवारजन र साथीसँग रमाइलो गीतगानका साथै पूजा गर्ने यो पर्वको आफ्नै मौलिकता छ ।

विवाह भएको पहिलो साउनमा फूल बटुल्न सोह्र श्रृङ्गार गरेकी नवविवाहिताहरुको भिड बगैंचामा पुग्ने पर्व हो, मधुश्रावणी । श्रावण कृष्ण पक्षको मैनापञ्चमीदेखि सुरु भई शुक्ल पक्षको तृतियासम्म १५ दिन निरन्तर चल्छ ।

पर्व सुरु भएको दिन देखि वेलुकी पाँच बज्नासाथ जनकपुरधामको गल्ली तथा चोकमा स्रोह श्रृगांरले सजिएका नवविवाहिता फूलको जोहो गर्न फूलवारीमा पुग्छन् । माइतका आफन्त तथा छिमेकका छोरीबुहारीको समूहले गीत गाउँदै गाउँदै फूलवारीमा फूल टिप्न उनीहरुलाई साथ दिइरहेका हुन्छन् ।

माता जानकीले समेत यसरी सखी सहेलीसँग फूल बटुलेकी विश्वास गरिन्छ । फूलवारीबाट ल्याइएको फूल हरेक दिन साँझ घरमा पूजा गर्ने ठाउँमा सजाएर राखेर विषहरा, नाग–नागिन, नेना–जोगना, महादेव–पार्वती तथा रति–कामदेवको कथा श्रवण गरी पुजापाठ गरिन्छ । मैना पञ्चमी, विषहरी, बिहुला, मनसा, मङ्गला गौरी, पृथ्वी जन्म, समुद्र मन्थन लगायतका कथा श्रवण गरिने भएकाले पनि यसलाई मधुश्रावणी भनिएको हो । यो पर्व पतिको दीर्घायु र हितका लागि मनाइन्छ ।

मिथिलामा गौरीलाई अटल सौभाग्य प्रदान गर्नुहुने देवीको रूपमा पूजा गरिन्छ । त्यसै गरि यस पर्वमा विशेष रूपमा नाग देवतालाई विषहराको नामले पूजा गर्ने गरिन्छ । विषहरालाई महादेवको सन्तती सरह मानिएकाले यो पर्वमा व्रत गरेपछि सर्पको भय त्रास नहुने र भगवान शंकर समेत प्रशन्न हुने विश्वास छ । १५ दिन मनाइने यो पर्व पुरुषोत्तम मास परेकाले यो वर्ष भने ४४ दिनको हुनेछ ।

व्रतालुले माइतमै मनाउनु पर्ने मधुश्रावणी पर्वको सुरुका १४ दिन खुशी र उमंगमा बित्ने भएपनि यस्को अन्तिम अथवा विसर्जनका दिन निकै कठोर मानिन्छ । ब्रतालुको हातगोडा तिनका पतिले आफ्नो हातले बाँधेर पछाडी बसिरहेका हुन्छन् । र विधिकर्मीले घ्युमा बालिएको दियोले व्रतालुको घुँडामा तीन पटक पोल्छन् । यसलाई मधुश्रावणीमा टेमी दिएको विधि भन्ने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *