पढाइ खर्च कसरी टर्छ ? (भिडियो रिपोर्टसहित)

२०८० असार १६ गते २१:०४
पढाइ खर्च कसरी टर्छ ? (भिडियो रिपोर्टसहित)

१६ असार २०८० धादिङ । उत्तरी धादिङ गङ्गाजमुना गाउँपालिकाको ‘रि’ गाउँ निगालो र बाँसको सामग्री निर्माणमा परिचित छ । यहाँका बुढापाका मात्रै नभएर स्कूले बालकालिका पनि निगालो र बाँसका सामग्री बनाउने गर्दछन् । आफ्नो पढाई खर्च जुटाउन विद्यार्थीले बिहान बेलुका थुन्से, डोको, डालो बुन्ने गरेका छन् ।

उत्तरी धादिङको ‘रि’ गाउँको धुसेनी र लतापबाट घाम डुब्नै लाग्दा विद्यार्थी हतार हतार घर फर्किए । निकै हतारमा देखिने यी बालबालिका विद्यालयबाट फर्किनासाथै पोसाक फेरेर खाजा खाए । अनि नियमित काम तर्फ लागे । यिनीहरुको नियमित काम भनेको बाँस र निगालोबाट बन्ने थुन्से, डोको र डालो बुन्नु हो । यही कामबाट नै उनीहरुको पढाई खर्च जुट्ने गर्दछ ।

बिहान बेलुका निगालो र बाँसको चोयाबाट विभिन्न सामग्री बनाउने कला भएका विद्यार्थी दिँउसोको समयमा भने विद्यालय जान्छन् । खेल्ने उमेरमै आफ्नो पुर्खैली पेषा सिकिसेका विद्यार्थीलाई खेल्ने समय भने मिल्दैन । यसरी तयार पारेका सामग्री बेचेर आएको पैसा गाउँकै सहकारीमा जम्मा गर्छन् अनि पछि पढाइ खर्चमा आवश्यक पर्दा प्रयोग गर्छन् ।

रि गाउँमा मात्रै बार्षिक ३ देखि ४ लाख डोको, डालो र थुन्से विक्रीबाट २० करोड रुपैयाँको हाराहारीमा आम्दानी हुने गरको छ । घरको आम्दानीको स्रोत नै चित्रा, फुङ्गा भएकाले उनीहरूले सानै देखि नै डोको, डालो बुन्न सिक्छन् । पहिले ढुवानीको समस्या भएपनि अहिले केही सहज भएको छ । तर, सरकारले निगालो खेतीका लागि सहयोग गरेपनि बजार प्रर्वद्धनमा भने सहयोग नगरेको स्थानीयको दुःखेसो छ ।

यो गाउँका थोरै युवाहरुले मात्रै उच्च शिक्षा लिने गरेका छन् । एका तिर सिप र अर्को तिर आम्दानी गर्ने यहाँका विद्यार्थीलाई उच्च शिक्षाकै चिन्ता छ । राज्यले उनीहरुको सिपको प्रयोग गर्दै उच्च शिक्षाको वातावरण सरकारले बनाइदेला कि भन्ने अपेक्षा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *