धादिङको चरौंदीमा पोषण सुधार केन्द्र सञ्चालन (भिडियो रिपोर्टसहित)

२०८० असार १२ गते २०:३५
धादिङको चरौंदीमा पोषण सुधार केन्द्र सञ्चालन (भिडियो रिपोर्टसहित)

१२ असार २०८० धादिङ । चेपाङ समुदायको बाहुल्यता रहेको धादिङको बेनिघाट रोराङ गाउँपालिकामा गरिबी, अशिक्षा, बालविवाह जस्ता कारणले बालबालिका कुपोषणको सिकार हुँदै आएका छन् ।

गाउँपालिकामा दुई सयभन्दा बढी बालबालिकामा कुपोषण छ । कुपोषणका कारण बालबालिकाले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ गाउँपालिकाले चरौंदीमा पोषण सुधार केन्द्र सञ्चालनमा ल्याएको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर की कल्पना चेपाङले १६ वर्षकै उमेरमा विवाह गरिन् । अहिले बल्ल २८ वर्षमा लागेकी कल्पनाले ६ वटा बच्चा जन्माइसकिन् । पछिल्लो पटक उनले जुम्ल्याहा बच्चा जन्माइन् । तर, सुत्केरी अवस्थामा पोषिलो खुराक नपाएका कारण दुबै बच्चा कुपोषणको शिकार भए ।

कुल जनसंख्याको ३८ प्रतिशत चेपाङ समूदायको बसोबास रहने यो गाउँपालिकामा अशिक्षा, गरिबी, बालविवाह, कम समयको जन्मान्तर, पोषिलो खानेकुराको अभावका कारण बच्चामा कुपोषण देखिँदै आएको छ । पोषण केन्द्रमा आमा र बच्चालाई पोषिलो खानेकुरा उपलब्ध गराइनुका स्वास्थ्य जाँच र सचेतनाका कक्षा पनि दिने गरिएको छ ।

गाउँपालिकामा पाँच वर्षमुनिका दुई सय आठ जना बालबालिका कुपोषणको शिकार भएको तथ्यांक छ । यही विकराल अवस्था देखेर गाउँपालिकाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा पोषण केन्द्र सञ्चालन गरेको हो ।

विगत १० वर्ष यता कुपोषणको अवस्थामा सुधार भएपनि अझै समस्या बाँकी रहेकाले एकीकृत कार्यक्रम सञ्चालन गनुपर्नेमा जोड दिइएको छ । अहिले १० जनालाई सेवा दिइएकोमा आगामी वर्षदेखि यसलाई दोब्बर बनाइने गाउँपालिकाको योजना छ ।

५९ महिना सम्मका बालबालिका र आमालाई पोषणयुक्त खानेकुरा खुवाएर सुपोषित बनाउने योजना अनुसार केन्द्र सञ्चालनमा ल्याएको हो । यो पालिकाका मात्रै २ हजार ८ सय जना बालबालिका पाँच वर्ष मुनीका रहेको गाउँपालिकाले जानकारी दिएको छ । सेवाग्राही केन्द्र स्थापना भएपछि कुषोषणको समस्यामा न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *