एमाले बैठक समसामयिक मुद्दा छोडेर चुनाव जित्नेमै केन्द्रित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख ३१ गते २१:२८
एमाले बैठक समसामयिक मुद्दा छोडेर चुनाव जित्नेमै केन्द्रित (भिडियो रिपोर्टसहित)

३१ वैशाख २०८० काठमाडौं । नेकपा एमालेको शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठक समसामयिक समस्यामा भन्दा पार्टीकै संगठन निर्माणमा केन्द्रित बन्यो ।

मुलुकको निर्णायक शक्ति एमाले प्रतिपक्षमै रहँदा पनि भ्रष्टाचार तथा अनियमितताविरुद्धको अभियानमा केन्द्रित हुनुपर्नेमा निर्वाचन कसरी जित्ने र सरकारमा कसरी पुग्ने भन्नेमा केन्द्रित बनेको हो ।

‘मिसन ग्रासरुट’ को उपलब्धि उपनिर्वाचनमा रिफ्लेक्सन भएलगत्तै बसेको नेकपा एमालेको पाँचौ केन्द्रीय कमिटी बैठक विभिन्न नयाँ मिसन सुरु गर्ने निर्णय गर्दै सम्पन्न भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणले सदनदेखि सडकसम्म तातिरहेका बेला बसेको बैठक समसामयिक विषय र भ्रष्टाचारविरुद्धको अडानमा कम र पार्टीका नयाँ नयाँ अभियान सुरु गर्ने कुरामा बढी केन्द्रित भएर सम्पन्न भयो । बरु बैठकमा गणतन्त्रका उपलब्धी संघीयता, धर्मनिरपेक्षता र कार्यकारी प्रधानमन्त्रीय प्रणालीमा बहस भयो, खैर यो बहस अध्यक्ष केपी शर्मा ओली निकटस्थहरुले नै सुरु गरे र ओलीले नै अन्त गरिदिनुभयो ।

संगठित कार्यकर्ताको संख्या, राजनीतिक गतिविधि र अघिल्लो निर्वाचनको अनुमोदित गणितमा पहिलो मुलुकै ठूलो दल एमाले ३ दिनसम्मको बैठकमा आफ्नै गति र शक्ति बढाउने अनि नेताहरुको मति सुधार्ने कुरामा केन्द्रित भयो । त्यसैले बैठकको मैझारो गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ुनेताहरु नै पार्टीको दर्शन, सिद्धान्त, शासकीय प्रणाली र मुलुकले प्राप्त गरेका उपलब्धिमा प्रष्ट हुनुपर्ने देखियो ।’ केन्द्रीय कमिटीकै थामिनसक्नु सदस्य भएको एमालेले यसपटक पार्टीका अन्य संरचना पनि भद्रगोल र अव्यवस्थित भएको निष्कर्ष निकाल्यो ।

पार्टी सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थीको नाममा ठगी धन्दामा संलग्न भएको आरोप लागेपछि पार्टीले रायमाझीबारे मात्र होइन देशको समग्र व्यथिति र अनियमितताबारे गम्भीर निर्णय लिने आम अपेक्षाविपरीत उसले यो प्रकरणलाई समसामयिक प्रस्तावका रुपमा राख्दै निष्पक्ष छानबिनको आह्वान गर्ने औपचारिकता निभाइदिएको छ ।

केन्द्रीय कमिटीका १४ बुँदे निर्णय पार्टीकै सवलीकरणमा खर्चिएको एमालेले १६ बुँदे प्रस्तावमा चाँहि सुशासनको कुरा झल्याकझुलुक समेट्यो । तर माओवादी लडाकु शिविरमा भएको अनियमितताको छानबिनलाई उसले छुटाएन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै जोडिएको यो प्रकरणबारे एमाले सांसदहरुले संसद बैठकमै चुनौतीसहित कुरा उठाइरहेका छन् ।

समसामयिक प्रस्तावको बुँदा नम्बर ५ मा एमालेले छानबिनको कुरा समेट्दै गर्दा एमाले नेतृत्वकै सरकारका पालामा चर्चामा मात्र होइन निकै विरोध खेप्नुपरेका वाइडबडी, ओम्नी, ललितानिवासलगायतका प्रकरणलाई उद्धृत गर्ने हिम्मत गरेको छैन ।

केही समयअघि विभिन्न जिल्लाबाट काठमाडौं आएर सरकारलाई दुःखेसो सुनाउने प्रयास गरिरहेका मिटरब्याज पीडितको घाउमा मल्हम लगाउन कहिल्यै ऐक्यबद्धता जनाउन सडकमा नपुगेको एमालेले समसामयिक प्रस्तावको बुँदा नम्बर ७ मा उनीहरुबारे पनि थोरै बोलेर औपचारिकता पूरा गरिदिएको छ । तर यसै प्रस्तावको बुँदा नम्बर ११ मा पुग्दा एमालेले पुनः अनियमितता तथा भ्रष्टाचार सम्झिँदै आफ्नो नेतृत्वको सरकारका पालामा धेरै काण्ड छानबिन गरिएको जिकिर गरेको छ, तर के–के काण्ड छानबिन गरेको हो खुलाएको छैन ।

यद्यपि यो बुँदा चाँहि जस लिनेमा भन्दा एमालेका नेताहरुलाई भ्रष्टाचारको आरोप लागेकोमा आक्रोश पोख्न केन्द्रित छ । एमाले नेताका विषयमा पूर्वाग्रहका आधारमा जबरजस्ती एमाले नेताको नाम मुछिएको भनेर गुनासो गरिएको छ ।
जिम्मेवार भनिएका नेतादेखि उच्च पदस्थ कर्मचारीसमेत राज्यविरुद्धको संगठित अपराधमा लागिरहेको खुलासा हुने गरी भ्रष्टाचार, अनियमिता र व्यथितिको फाइल खुल्दा जिम्मेवार राजनीतिक दलको केन्द्रीय कमिटी बैठक यी विषयमा भन्दा बढी पार्टीको संगठन निर्माण गर्ने, छोराछोरीदेखि बाबुआमासम्मलाई कसरी पार्टीको सदस्य बनाउने र आगामी चुनाव कसरी जित्ने भन्नेमा केन्द्रित बनेको छ ।

एमाले बैठकको यक्ष सवाल नै भ्रष्टाचारको जरो कसरी उखेल्ने, यसमा सरकारलाई कसरी दबाब दिने भन्नेमा भन्दा बढी गएको निर्वाचनमा किन पराजित भइयो र अबको निर्वाचनमा कसरी बहुमत प्राप्त गरी सरकारमा पुग्ने भन्नेमा केन्द्रित रह्यो। आफ्नो राजनीतिक प्रतिवेदनमै एमाले अब विकल्प रहेन भन्ने स्वीकार गरेका अध्यक्ष ओलीले पार्टीलाई मिसन २०८४, मिसन ५१ प्रतिशत, मिसन योङ वा देशैभरि छोराछोरी बनाउने अभियानको नेतृत्व गर्दा अब सुशासनका मुद्दाको नेतृत्व गर्ने जिम्मा चाँहि कसलाई छोडिदिनुभएको होला ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *