भरिएला अभिनन्दनका नाममा ज्ञानेन्द्रले थापेको ढोक्सा ? (भिडियो रिपोर्टसहित)

२०८० वैशाख १७ गते २०:३९
भरिएला अभिनन्दनका नाममा ज्ञानेन्द्रले थापेको ढोक्सा ? (भिडियो रिपोर्टसहित)

१७ वैशाख २०८० काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नागरिक अभिनन्दनका नाममा अहिले देश दौडाहमा हुनुहुन्छ । राजतन्त्र अन्त्य भएको डेढ दशकसम्म पनि पुनः सत्तामा फर्किन सक्ने र राष्ट्राध्यक्ष भएर काम गर्न पाउने उत्कट चाहनाले ज्ञानेन्द्रलाई कहिले पूर्व कहिले पश्चिम, कहिले हिमाल कहिले तराई पुर्‍याइरहेको छ । के पूर्वराजाको यो सक्रियता कामयाबी हुन सक्ला ?

फागुन ७ गते प्रजातन्त्र दिवसका दिन आफूलाई पनि सक्रिय राजनीतिमा सहभागी गराउन दलहरुलाई आह्वान गरेका पूर्वराजा ज्ञानेन्द्र त्यसयता नागरिक अभिनन्दन वा पूजापाठका नाममा निरन्तर सक्रिय हुनुहुन्छ ।

विवादित व्यवसायी दुर्गा प्रसाईँले गरेको कार्यक्रमका माध्यमबाट होस् वा राप्रपाका नेताहरुको सक्रियतामा तयार गरिएका कार्यक्रम मार्फत् होस् पूर्वराजा ज्ञानेन्द्र नागरिकको सम्पर्कमा जोडिइरहनु भएको छ । र अधिकांश कार्यक्रमहरुलाई नागरिक अभिनन्दनको नाम दिइएको छ ।

नागरिक अभिनन्दन भनिएका कार्यक्रम कतिपय ज्ञानेन्द्रबाटै प्रायोजित भएको सत्य लुकेको छैन । यस्ता कार्यक्रमहरुमा स्वकीय सचिव सागर तिमिल्सेना आफैँ सक्रिय हुनुहुन्छ ।

त्यसो त सक्रिय राजनीतिबाट अवकास गराइएका पूर्वराजा पटकपटक विभिन्न बहानामा नागरिककहाँ पुग्ने र उनीहरुको नाडी छामेर निर्मल निवास फर्किने गर्नुभएको छ । गत निर्वाचनपछि भने पूर्वराजाको यो सक्रियता विगतको भन्दा बढेको छ ।

निर्वाचनमा प्राप्त फरक अभिमत र नागरिकमा देखिएको परिवर्तनको हुटहुटीलाई क्यास गर्न पूर्वराजाले नागरिक अभिनन्दनका नाममा सुरु गरेको प्रयोग मेचीदेखि महाकालीसम्म फैलिँदो क्रममा छ ।

यतिबेला कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा यही प्रयोजनका लागि निस्किएका पूर्वराजालाई राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न धार्मिक संघ–संगठनले साथ दिइरहेका छन् ।
१५ वर्षअघि दरबार छोडेका पूर्वराजालाई बोकिरहेका दुर्गा प्रसाईँको व्यवसायिकसहित राजनीतिक छवि कमजोर छ ।

केही समयअघि एमालेसहितको गठबन्धनमा रहेर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको राप्रपा पनि राजनीतिमा वैकल्पिक शक्ति बन्ने कुनै गुञ्जायस बाँकी छैन ।

वर्षौँदेखि राजतन्त्रका विषयमा घोषित राजनीतिक गरिरहेका धार्मिक संगठनहरुको जग पनि कमजोर नै देखिन्छ । यस्तो अवस्थामा यीनै संगठन र दलको फेरो समाएर पुनः दरबारमा फर्किने पूर्वराजाको लालसाले गन्तव्य भेट्टाउन कठिन देखिन्छ ।

संवैधानिक वा सेरोमोनियलकै नाममा समेत राजतन्त्र पुनर्स्थापित गर्ने कुरा पश्चगमनतर्फको बाटो हो भन्नेमा नयाँ पुस्तासमेत आश्वस्त बनिसकेको अवस्था छ । यद्यपि पूर्वराजामा सत्ता पुनरागमनको हुटहुटी थप बढेको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *