पुस्तौँदेखि आरनबाट गर्जो टार्दै

२०८० वैशाख १६ गते ७:३०
पुस्तौँदेखि आरनबाट गर्जो टार्दै

१६ वैशाख २०८० डडेल्धुरा । डडेल्धुराका दलित परिवारका मानिस पुस्तौँदेखि आरन व्यवसायबाट गर्जो टारिरहेका छन् ।

यद्यपि पछिल्लो समयमा आर्थिक अवस्था कमजोर र बढ्दो आधुनिक प्रविधिका कारण पुस्तौँ पुरानोे व्यवसायबाट परिवार धानिरहेका मानिस सङ्कटमा परेका छन् ।

बजारमा दैनिक उपभोग्य सामग्री महङ्गिँदै जानु र आरन तथा डोका, नाम्लाका लागि आवश्यक पर्ने कच्चापदार्थ दुर्लभ हुनाले व्यवसाय नै धरापमा पर्न गएको उक्त समुदायका मानिसको भनाइ छ । फलाम पिटेर विभिन्न औजार निर्माण गर्दै आएका आरन व्यवसायीका साथै बाँस निगालाको कामबाट डोको, नाम्लो तथा सुपो लगायतका सामग्री बनाउने मानिस समस्यामा पर्दै गएका हुन् ।

तामा, फलामलगायतका सामग्रीको तुलनामा बजारमा पाइने प्लाष्टिकजन्य सामग्री सस्तो हुने र हातले बनाएको सामग्रीको तुलनामा मेसिन तथा आधुनिक प्रविधिबाट निर्माण गरिएका सामग्री आकर्षक हुनाले पुस्तैनी पेसामा आत्मनिर्भर समुदायका मानिसको पेसा नै सङ्कटमा परेको हो ।

पुस्तौँदेखि अँगालेको आरन पेसालाई आधुनिकीकरण गर्न युवापुस्ताले पनि चासो दिएका छैनन् । त्यसैले पुस्ता हस्तान्तरण हुन नसक्दा परम्परागत पेसा नै लोप हुने खतरामा छ । सल्लाको बोक्राको आगोको लप्कामा ज्यान नै जोखिममा राखी फलाम पिटेर विभिन्न देवीदेवताका मूर्तिसँगै कृषि औजार बनाउने पेसा सदरमुकामदेखि गाउँघरमा विरलै कायम छन् ।

युवापुस्ताले यो पेसाबाटै मेहनतअनुसार मुनाफा नदेखेपछि विकल्प रोज्न थालेका छन्् भने उमेर पुगेका मानिसले मात्रै परिवारको गर्जो टार्न बाध्यताले परम्परागत आरन तथा डोको, नाम्ला बनाउने पेसा गरिरहेका छन् । त्यसमा पनि परिवारको आर्थिक अवस्था कमजोर भएका मानिसले मात्रै यो पेसा अँगालेको पाइन्छ । हातले निर्माण गरेका सामग्री धार्मिकरूपमा राम्रो मानिने र टिकाउ हुने भए पनि मेसिनले बनेका सामग्रीले बजार लिँदा आफूहरू धरापमा परेको सदरमुकाममा आरन व्यवसाय गर्दै आएका नारायण टमटाले बताउनुभयो ।

नारायणले यो पेसा अँगालेको छ दशकभन्दा बढी भयो । उहाँले जिल्ला सदरमुकाममा यो पेसा थालनी गरेको पनि दुई दशक बढी भइसक्यो । सत्तरी वर्ष कटेका नारायण पारिवारिक अवस्था र मानसिक असन्तुलन भएका छोराका लालाबाला हुुर्काउन बिहान ७ बजेदेखि साँझ अँध्यारो नपरुञ्जेल फलाम पिटेर निश्चित अकार दिने गर्नुहुन्छ । हप्ता दिन काम गर्नसके मुस्किलले एक भाँडो बनाउनसक्ने नारायणको भनाइ छ । हप्ता दिन काम गरेर आकार दिएको सामग्रीको रु १० देख १२ हजार मात्रै पाउने गरेको र त्यसले कोठाभाडा र साँझ, बिहान हातमुख जोर्न पनि धौधौ भइरहेको नारायणले बताउनुभयो ।

नारायणलाई यो काममा सघाउन ६० वर्षीया धर्मपत्नी भागरथी टमटाबाहेक अरु कोही छैनन् । मानसिक असन्तुलन भएका छोरा र उनकै श्रीमती र नातिनातिना हुर्काउन बाध्य भएर वृद्ध अवस्थामा फलाम तामो पिट्नु परेको नारायणको दुःखेसो छ । कमजोर आर्थिक अवस्था र पेट पाल्नका लागि मजदुरीका कारण दुःखकोे जीवन जिउनुपरेको उहाँको भनाइ छ । त्यसमा पनि कान्छो छोरा रोजगारका लागि भारततिर रहेको उहाँले जानकारी दिनुभयो ।

बढ्दो आधुनिक मेसिनबाट निर्मित आयातित औजारले प्रभाव जमाउनुअघि सदरमुकाममा र गाउँघरमा आवश्यक पर्ने देवीदेवताका मूर्तिदेखि घरायसी औजार यिनै आरनबाट बन्ने गर्दर्थे । विगतमा यो पेसा स्वावलम्बी ग्रामीण समाजको एउटा महत्त्वपूर्ण पाटोका रूपमा रहेकोे थियो । अब आरन र आरनमा काम गर्ने मानिस दुवै घट्दै गएका छन् । आरनबाट औजार बनाउने प्रविधिमा समयानुकूल सुधार हुन नसक्नु यसको मुख्य कारण मानिएको छ ।

परम्परागत पेसाले समान्य पेट पाल्नेबाहेक अरु आर्थिक लाभ केही नभएको उहाँहरू बताउनुहुन्छ । मेहनत गर्नसके हातमुख जोर्न मिल्ने नत्र भोेकै पनि बस्नुपर्ने बाध्यता हुने अजयमेरु–१ का जीतबहादुर पार्कीले बताउनुभयो ।

उहाँले यो पेसाबाट कुनै लाभ लिन नसकेको बताउनुभयो । छोराछोरीलाई राम्रो पढाउन नपाएको उहाँको दुःखेसो छ । आर्थिक अवस्थाका कारण पेसालाई अधुनिकीकरण गर्न नसकिएको व्यवसायी बताउँछन् । मेसिनबाट बनेका सामग्री हातबाट निर्मित सामग्रीभन्दा सस्ता हुन्छन् । देवीदेवताको मूर्ति बनाउन नै हप्ता दिनभन्दा बढी लाग्ने उनीहरूको भनाइ छ । स्थानीय सरकारको आश्वासन मात्रै मिल्ने गरेको तर सहयोग कुनै रूपमा नपाएको पीडा छ ।

आधुनिक मेसिन भित्र्याउन नसक्दा युवा वर्ग यो पेसातिर आकर्षित भइरहेका छैनन् । बरु विदेशतिर जान्छन् । धुवाँ, धुलोका कारणले गर्दा युवा यो पेसामा लाग्न मान्दैनन् । “पुस्तौँदेखि काम गर्दै आएका हामीसँग सीप छ कला छ तर लगानी छैन”, देवीदेवताका मूर्तिदेखि घरमा चाहिने सबैखाले आरनबाट बन्ने सामग्री हिजोआज पनि बनाउने गरेका टमटाको भन्नुभयो । अहिलेका युवाले ध्यान नदिएका कारण यो पेसा सङ्कटमा आएको आरन व्यवसायीको भनाइ छ ।

ज्याला कम आउने तर धेरै मेहनत पर्ने भएकाले परम्परागत आरन पेसा अपनाउन समस्या छ । आरन नहुँदा परम्परागत घरायसी तथा कृषि औजार मर्मत गर्नसमेत समस्या हुने गरेको छ । अहिले पनि ग्रामीण क्षेत्रमा अधिक प्रयोग हुने देवीदेवताका मूर्ति, वाद्यवादनका सामग्री दमाहा, ढोलक, भोक्कर, बिक्कुलका साथै तामाका ताउला गाग्री, खुकुरी, कुटो, कोदालो, हँसियाजस्ता कृषि औजार आरनबाटै बन्ने गरेको नारायण बताउनुहुन्छ ।

औजारको माग अहिले पनि ग्रामीण बस्ती र बजारमा धेरै नै रहेको छ । आरनबाट औजार बनाउने प्रविधिमा सुधार गरी आधुनिकीकरण गरेर प्रोत्साहित गर्नसके स्थानीयस्तरमा रोजगार सिर्जना हुनुका साथै पुस्तैनी पेसा पनि जगेर्ना हुनसक्ने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *