नगराइनमा नौ महिनादेखिको विवाद साम्य

२०८० वैशाख १३ गते ७:४३
नगराइनमा नौ महिनादेखिको विवाद साम्य

१३ वैशाख २०८० जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकामा नौ महिनादेखिको विवाद भएको छ ।

गत वैशाखमा निर्वाचित भएलगत्तै नेपाली कांग्रेसतर्फका नगरप्रमुखमा निर्वाचित विनयकुमार यादव र नेकपा (एमाले) तर्फका उपप्रमुखमा निर्वाचित राधादेवी यादवबीच विवाद हुँदा नौ महिनासम्म कामकाज ठप्प भएको थियो ।

एकअर्काको निर्णय दुवै पक्षले मान्न आनाकानी गरेपछि नगरपालिकाका कामकारवाहीमा बाधा पुगेको थियो । स्थानीयको दबाबपछि दुवै पक्ष मिलेर काम गर्न सहमत भएका छन् । नगरप्रमुख विनयकुमार यादव आपसी सहमतिमा नगर क्षेत्रमा विकासका गतिविधि अगाडि बढाइने बताउनुहुन्छ । “नगर क्षेत्रमा विभिन्न योजना निर्माण थालेका छौँ”, उहाँले भन्नुभयो । अघिल्लो कार्यकालमा बनेका ऐन, नियम र कार्यविधिका विषयमा विवाद भएको यादवको भनाइ छ ।

दुवै पक्षबीचको विवाद समाधानपछि वडा नं ६ स्थित नेपाल–भारत सीमामा पर्ने जमुना नदीमा झोलुङ्गे पुल र नगरको प्रशासकीय भवन निर्माणका लागि प्रक्रिया अघि बढेको छ । यस्तै १५ शय्याको अस्पताल निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी छ । यसैगरी स्मार्ट नगराइन नगरपालिका बनाउन जटहीबाट जनकपुरधामसँग सडकको बीच भागमा वृक्षरोपण, दुवै सीमामा प्रवेशद्वार, बत्ति जडान, प्रत्येक वडामा विद्युतीकरण, कृषि सडकलगायत कामका लागि प्रक्रिया थालिएको यादवले बताउनुभयो ।

नगर उपप्रमुख राधादेवी यादव आफ्नो क्षेत्राधिकारमा हस्तक्षेप गर्ने गरी बनाइएका कानुन संशोधनका लागि पहल नहुँदा विवाद भएको र अब त्यसले निकास पाएको बताउनुहुन्छ । “आगामी असारमा हुने नगरपरिषद्बाट पारित गर्ने गरी कानुन संशोधन गर्न मस्यौदा निर्माणका लागि समिति बनाउने र बाँकी काम द्विपक्षीय सहमतिमा गर्ने समझदारी भएको’’, उहाँले भन्नुभयो ।

विवादका कारण रोकिएको सामाजिक सुरक्षा भत्ता वितरण थालिएको छ । उपप्रमुख नेतृत्वको न्यायिक समितिले पूर्णता पाएको छ । “अब छिट्टै मुद्दामामिलाका काम छिनोफानोतर्फ लाग्छौँ”, उपप्रमुख यादवले भन्नुभयो ।

विवाद भएपछि रोकिएका वडास्तरका कामकाजसमेत अघि बढेका नगराइन–६ का वडाध्यक्ष ललित साहले जानकारी दिनुभयो । नगरपालिकामा मुख्य विवाद उपभोक्ता समिति गठन र अनुगमन कसले गर्ने भन्ने विषयमा भएको थियोे । “आ–आफ्नो क्षेत्राधिकारमा रहेर जिम्मेवारी निर्वाह गर्ने र जिम्मेवारी निर्वाह गर्दै जाँदा बाधा–अड्चन आएमा सोहीअनुसार बाधाअड्काउ फुकाउने गरी अगाडि बढ्ने सहमति भएको छ”, नगरप्रमुख यादवले भन्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *