ओटीपी लिक हुँदा बैंकबाटै रकम गायब, साढे ४६ लाख रुपैंया पत्तै लागेन, धनुषामा ५२ उजुरी (भिडियो रिपोर्टसहित)

२०८० वैशाख ५ गते २१:०२
ओटीपी लिक हुँदा बैंकबाटै रकम गायब, साढे ४६ लाख रुपैंया पत्तै लागेन, धनुषामा ५२ उजुरी (भिडियो रिपोर्टसहित)

५ वैशाख २०८० धनुषा । के तपाईको मोबाइलमा तपाईले माग गर्दा बाहेक अन्य समयमा बैँकको ओटिपी नम्बर आउँछ ? के ओटिपी नम्बर भन्नुहोस् भनेर कुनै फोन आउँछ ? यदि आइरहेको छ भने होसियार हुनुहोस् ।

त्यस्ता प्रकृतिका फोन र मेसेजले तपाईको बैँकमा भएका पैसा क्षणभरमै गायब पारिदिन्छन् । धनुषामा अहिले दर्जनभन्दा बढी ग्राहक यस्तै घटनाको सिकार भएका छन् । पैसा गायब भएपछि बैँक र प्रहरीले पैसा फिर्ता गराउन नसक्दा ग्राहक मारमा परेका छन ।

उहाँ हुनुहुन्छ– रामचन्द्र पुर्वे । महोत्तरी पिपरा–६ रतौली निवासी उहाँ पेशाले शिक्षक र व्यवसायी पनि हो । एनआइसी बैंक जनकपुरधामको पिडारीचौक शाखामा ६ वर्ष अघि खाता खोलेर सातलाख जम्मा गर्नुभयो । केही दिन अघि एक फाउन्डेशनको नाममा उनलाई राति फोन र म्यासेज आयो । म्यासेजमा कतिवटा नम्वर छ कृपया पठाउनोस भनेर सोधिएको थियो । उहाँले कुनै फाइदाको लागि होला भनेर जवाफ फर्काउनुभयो । त्यही राति उहाँको खाताबाट पैसा घट्न थाल्यो ।

बिहानै बैँक पुग्दा उहाँको खाताबाट ६ लाख रुपैयाँ गायब भएको थियो । पछि थाहा भयो पैसा सनराइज बैंकमा स्तान्तरण भइसकेको रहेछ । सनराइज बैंक पनि पैसा आएको तर निकालिसकिएको जानकारी गरायो । हाल सम्म पुर्वेको पैसाको अत्तोपत्तो लाग्न सकेको छैन ।

यस्तै समस्या अर्का जनकपुरधाम उपमहानगरपालिका वडा नं। १९ शिवपुरका नारायण शर्माले पनि भोगेका छन् । चैत २२ मा कुमारी बैंकमा चार लाख कर्जा लिएको पैसा जम्मा गरे । २६ गते पैसा निकाल्न पुग्दा २४ र २५ गते गरि सबै पैसा निकालिएको जानकारी पाए । होली बिदामा पनि पैसा कसरी निकालियो उनी जिल्ल परे । दैनिक बैंकमा धाइरहेका उनलाई अनुसन्धानमा समय लाग्ने भन्दै बैंकले आश्वासन बाहेक केहि दिन सकेको छैन ।

रामचन्द्र र नारायण त प्रतिनिधि पात्र हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार यही प्रकृतिका घटना भोगेका दर्जनौँ पीडित छन् । चालु आर्थिक वर्षमा ५२ वटा रकमान्तरका उजुरी परेको छ । जस मध्ये पाँचवटा फस्र्योट भएका छन् । गत आर्थिक वर्षमा कुल ३४ निवेदन परेकोमा सात वटा समाधान भएको छ ।

रकमान्तर हुनेमा सबै भन्दा बढी एनआइसी एसिया बैंकबाट भएको देखिन्छ । त्यस्तै मुक्तिनाथ, सानिमा, नविल, राष्ट्रिय बाणिज्य, एभरेष्ट र कुमारी बैंकहरुबाट रकमान्तर भएको प्रहरीको तथ्याङ्कमा देखिन्छ ।

ठूला रकमको १७ वटा उजुरीलाई नै हिसाब गर्दा कुल ४६ लाख ३५ हजार ३ सय ७० रुपैया रकमान्तर भएको छ । प्रहरीका अनुसार मोबाइल बैकिङ्क सहितको सेवाबाट विभिन्न बहाना र प्रलोभनमा पारि ओटिपी लिक हुँदा यस्ता घटना भइरहेका छन् । र, पैसा एक बैंकबाट अनेक बैंकमा पठाएर निकाल्ने भएकाले अनुसन्धानमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

यस विषयमा बैंकका बैँकको शाखा प्रमुख भने बोल्न चाहँदैनन् । मिहिनेतले आर्जेको रकम सबै गायब हुँदा अहिले ग्राहक इन्तु न चिन्तुमा छन् । ठगी भइसकेपछि पनि हुने गरेको लामो र झन्झटिलो अनुसन्धानबाट थप उनीहरू प्रताडित हुन पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *