किन भयो जडिबुटी संकलन तथा प्रशोधन केन्द्र अलपत्र ? (भिडियो रिपोर्टसहित)

२०८० वैशाख ३ गते १७:००
किन भयो जडिबुटी संकलन तथा प्रशोधन केन्द्र अलपत्र ? (भिडियो रिपोर्टसहित)

३ वैशाख २०८० सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ११ वर्ष अघि निर्माण गरिएको जडिबुटी संकलन तथा प्रशोधन केन्द्र अलपत्र छ ।

विभिन्न जिल्लामा संकलन गरेर प्रशोधन गर्ने अवधारणाका साथ बनाइएको केन्द्रले काम गर्न नसक्दा अहिले पनि कर्णालीका जडिबुटी सस्तो मूल्यमा भारत निर्यात गर्नुपर्ने बाध्यता छ ।

जडिबुटीको खानी मानिने कर्णाली प्रदेशमा ८२ प्रकारका बहुमूल्य जडिबुटी पाइन्छन् । औषधीय गुण भएका त्यस्ता जडिबुटीलाई प्रदेशमै संकलन र प्रशोधन गर्ने अवधारणासहित वाणिज्य मन्त्रालयको आर्थिक सहयोगमा सुर्खेतको काँक्रेविहारमा भवन निर्माण सुरु गरेको थियो । तर, एघार वर्ष भयो, भवन निर्माण सकिएको छैन । एक दशकभन्दा बढी समय अलपत्र पर्नुलाई बजेट पचाउने खेलमात्र थियो कि भन्ने आशंका उत्पन्न भएको छ ।

वाणिज्य मन्त्रालयको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको आर्थिक सहयोगमा सुर्खेत उद्योग वाणिज्य संघले संचालन गर्नेगरी निजी साझेदारीको मोडलमा काम सुरु भएको थियो । जसका लागि चार करोड रुपैयाँ खर्च भइसकेको छ । तर, अझै भित्री संरचना बनाउन बाँकी छ ।

भवन निर्माणको काम नसकिँदा जडीबुटी संकलन केन्द्रको पूर्वाधार निर्माणका लागि निजी–साझेदारी मोडेलमा काम सुरु गरिएको थियो । जसमा अहिलेसम्म भवन निर्माणका लागि मात्रै ४ करोड रुपैयाँ खर्च भइसकेको छ । तर भवन अझै पूरा हुन सकेको छैन ।

कर्णालीमा वार्षिक एक करोड ४२ लाख सात हजार किलो जडिबुटी संकलनको क्षमता रहेको विज्ञको भनाई छ । यार्सागुम्बा, पाँचऔंले, जटामसी, घोडमर्च, तितेपाती, पाखनवेदलगायत ८२ प्रकारका बहुमूल्य जडिबुटी कर्णालीमा पाइन्छन् । भवन निर्माण भए १ हजार ५ सय ७० टन भण्डारणको क्षमता छ । जडिबुटीको सही ढंगले संकलन, प्रशोधन, व्यवस्थापन र निर्यात हुन नसक्दा प्रदेशले पाउनु पर्ने लाभ उठाउन सकेको छैन ।

जडीबुटी संकलन तथा भण्डारण केन्द्र नहुँदा संकलन गरेर ल्याएको जडीबुटी सड्ने र गुणस्तर कायम गर्न निकै चुनौती हुने व्यवसायीको गुनासो छ । अहिले कर्णालीका व्यवसायीले नेपालगन्ज हुँदै भारततर्फ सस्तो मूल्यमा जडीबुटी बिक्री गर्नुपर्ने बाध्यता छ । आफैंले उत्पादन गरेका जडिबुटीका उत्पादन बेच्नसमेत विभिन्न प्रशासनीक झमेला छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *