जुड शितल पर्व, मान्यजनबाट आशीर्वाद लिने पर्व (भिडियो रिपोर्टसहित)

२०८० वैशाख २ गते १७:०१
जुड शितल पर्व, मान्यजनबाट आशीर्वाद लिने पर्व (भिडियो रिपोर्टसहित)

२ वैशाख २०८० धनुषा । प्रत्येक वैशाख प्रारम्भसँगै मिथिलामा जुडशितल पर्व मनाइन्छ । यो पर्वमा वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु र प्रगतिको कामनासहित ठुलाबडाले आफूभन्दा सानालाई आशीर्वाद दिने गर्छन् ।

रुखविरुवामा पानी हाल्ने अनि खेतबारीमा मलजल गर्ने परम्परा पनि यो पर्वको अर्को विशेषता हो । बढ्दो गर्मीका माझ आरम्भ हुने जुड शितललाई जीवनमा शीतलता दिने पर्वका रूपमा लिइन्छ ।

मधेसका जिल्लाहरूमा जुडशीतल पर्व मनाइएको छ । थारू समुदायमा यो पर्व सिरुवाको नामले मनाइन्छ । तराई समाजमा जुडशीतल सामाजिक सद्भाव, भाइचारा, आदर्श एवम् सम्बन्धको पर्वको रूपमा छ । गाउँगाउँमा आफूभन्दा सानाको शिरमा जल छर्किदिएर आशीर्वाद दिँदै दिने तथा आशीर्वाद लिनेले खुट्टा छोएर दण्डवत् गर्ने परम्परा छ ।

पर्वको अवसरमा घर, आँगन सफा गरिन्छ । सिरुवा पर्वमा देवीदेउतालाई बासीभात, आँपको चिचिलाको चटनी, खानाको परिकार, दूध, दही आदि चढाइन्छ । पर्वको पहिलो दिन वैशाख सङ्क्रान्तिमा चना, जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरी खाद्यान्नको सातु र माटोको आम्खोरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूल पुरोहित, ब्राह्मण र साधुलाई दान गरिने मिथिला चलन छ ।

त्यस्तै बढ्दो गर्मीमा शरीरमा शीतलता दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छ । यसलाई बोलीचालीमा ‘सतुवाईन’ पनि भनिन्छ । यस्तै दोस्रो दिन खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गर्दै, नयाँ बोट बिरुवा रोप्दै आवश्यक चिस्यानको कमी कहिल्यै नहोस् भन्ने कामना गरिन्छ । यस दिन व्यक्ति मात्र होइन भान्छा समेतलाई जुराउने परम्परा छ ।

यस दिन शिरमा जल राखी आशीर्वाद दिंदा वर्षभरी शितलता, शान्ति र समृद्धि आउने जनबिश्वास रहेको पाईन्छ । आजैका दिन मलिलो माटो सहितको हिलोमा समेत खेल्दा शितलता पाउने भएकाले खेल्ने गरिन्छ ।

यो पर्व मिथिलामा प्रकृतिसँग जोडिएको संस्कृतिको रूपमा पनि छ । तर, जलवायु परिवर्तन र यसको असर बढिरहेका बेला जुडशीतल पर्वको महत्त्व अझै सान्दर्भिक बन्न पुगेको छ । तर, युवा पिँढीमा आफ्नै संस्कृतिको ज्ञान र संरक्षणको अभाव हुनु बिडम्बना छ । आधुनिक संस्कृतिको विकास र प्रचलनसँगै जुडशीतल पर्वको महत्त्व घट्दै गएको देखिन्छ ।

यस दिन कसैको घरमा चुलो बल्दैन । जसको अर्थ एकदिन चुलो नबालेर तापलाई कम गर्न खोजिएको हो । जुन मान्यतालाई विश्वमा ‘अर्थ आवर’ भनेर मनाइन्छ । त्यसैले यो पर्व मानव र प्रकृतिसँग सिधै जोडिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *