सिरहाको लहान नगरपालिकास्थित सलहेस फूलबारीमा पर्यटकको घुँइचो (भिडियो रिपोर्टसहित)

२०८० वैशाख १ गते १८:१५
सिरहाको लहान नगरपालिकास्थित सलहेस फूलबारीमा पर्यटकको घुँइचो (भिडियो रिपोर्टसहित)

१ वैशाख २०८० सिरहा । प्रत्येक नयाँ बर्षको पहिलो दिन अर्थात वैशाख १ गते फूल फुल्ने विश्वासका साथ फूल हेर्न बिहानैदेखि सिरहाको लहान नगरपालिकास्थित सलहेस फूलबारीमा पर्यटकको घुँइचो लागेको छ ।

फूलबारीमा धेरै पहिलेदेखि फूलको दर्शनको लागि नेपाल तथा भारतका दर्शनार्थी सलहेस पुग्ने गरेका छन् । संरक्षण तथा प्रचारप्रसार भए अझै धेरै पर्यटक आकर्षण गर्न सकिने स्थानीयले जनाएका छन ।

राजा सलहेसको ऐतिहासिक गाथा बोकेको सलहेश फूलबारी मन्दिरमा नेपाल तथा भारतबाट हजारौं दर्शनार्थीहरु आउने गरेका छन् । हरेक वर्षको चैत मसान्त र वैशाख संक्रान्तिका बेला हारमको एउटै रुखमा दुई दिन मात्र सुनाखरी फूल फुलेर मालाको आकार ग्रहण गर्ने सलहेशको सुगन्धका लागि निकै मानिस भेला हुन्छन् र ठूलो मेला पौराणिककालदेखि लाग्दै आइरहेको विश्वास गरिन्छ ।

सलहेश तराईका पासवान जातीको इष्टदेव रहेको र तेह्रौ शताब्दीका लोकनायक भएकोले सलहेशको पूजाअर्चना गर्नाले मनोकाक्षां, सन्तान प्राप्ति, चर्म रोग, कुष्ट रोग लगायतका रोग ब्याधि हरण हुने जनविश्वास रहेको छ ।

फूलबारी भित्र दुर्लभ जातीका जडीबुटीहरु खोज्न भारतको बिहार, पश्चिम बंगला, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषा लगायतका जिल्लाबाट हजारौंको संख्या आउने गरेका छन् । तर, स्थानीय सरकारले यसको महत्व नजरअन्दाज गरिरहेको छ । यसको संरक्षण र संवर्धन गर्न सके स्थानीय तहले मात्र नभई नागरिकले समेत लाभ लिन सक्ने विश्वास छ ।

सिरहामा पूर्व कर्णाटककालिन अवशेषहरु अझै भेटिन्छन् । सहलेश फूलबारीसँगै इतिहासका अवशेषलाई संरक्षण र प्रचारप्रसार गर्न सके यहाँ वर्षैभरी पर्यटक ल्याउन सकिनेछ । स्थानीय सरकारले यसमा ध्यान दिनुपर्ने स्थानीयको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *