महाकाली अस्पतालमा डायलासिस सेवा चाँडै

२०७९ चैत २४ गते ७:४९
महाकाली अस्पतालमा डायलासिस सेवा चाँडै

२४ चैत २०७९ दोधारा चाँदनी । स्वास्थ्य सेवा विभागको टोलीले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको डायलासिस सेवाको निरीक्षण गरेको छ ।

स्वास्थ्य सेवा नर्सिङ सामाजिक सुरक्षा शाखाका प्रमुख डा खगेश्वर गोलाल नेतृत्वको टोलीले निरीक्षण गरेको हो । टोलीमा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा जगदिश जोशी, डा जुजुराम श्रेष्ठ र नर्सिङ अधिकृत करुणा तिमिल्सिना सहभागी थिए । अस्पतालले डायलासिस सेवा सञ्चालनको तयारी गरिरहेको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले डायलासिस सेवा सञ्चालनका लागि संरचना र जनशक्ति तयारी अवस्थामा राखेको जानकारी दिनुभयो । अस्पतालले आजदेखि परीक्षणका रुपमा डायलासिस सेवा थाल्ने तयारी गरेको छ ।

यसअघि बजेट अभाव तथा स्वास्थ्य सेवा विभागले अनुमति नदिँदा डायलासिस सेवा सञ्चालन हुन सकेको थिएन । “अनुमति पाउन मात्रै बाकीँ थियो”, उहाँले भन्नुभयो, “तत्काल दुई सिफ्टमा सेवा सञ्चालन गर्ने तयारी छ ।”

महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितिका सदस्य इन्द्र साउँदले आजदेखि परीक्षण गरेर आगामी सातादेखि सेवा दिने तयारी भइरहेको बताउनुभयो । सङ्घीय सरकारबाट आएको बजेट कटौतीका कारण सेवा दिन ढिलाइ भएको उहाँको भनाइ छ । अस्पतालमा डायलासिस सेवा नहुँदा बिरामीले अन्यत्र जानुपर्ने बाध्यता छ ।

“धनगढीस्थित सेती अस्पतालमा मात्रै डायलासिस सेवा छ, तर बिरामीको चापले पालो पाउनै मुस्किल पर्छ”, अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा अर्जुन भट्टले भन्नुभयो । हाल कञ्चनपुरबाट एक सयभन्दा बढी मिर्गौलाका बिरामी डायलासिसका लागि धनगढी तथा सीमावर्ती भारतीय अस्पताल जाने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *