निर्माण शुरु भइसकेको भवन फेरि शिलान्यास (भिडियो रिपोर्टसहित)

२०७९ चैत २२ गते १५:०४
निर्माण शुरु भइसकेको भवन फेरि शिलान्यास (भिडियो रिपोर्टसहित)

चैत २२ २०७९ दाङ । कुनै पनि विकास निर्माण वा भवन निर्माण सुरु गर्नुअघि शिलान्यास गर्ने चलन छ । त्यसपछि निर्माण अघि बढ्छ । तर, दाङको तुलसीपुर उपमहानगरपालिकामा भने टावर निर्माणको बेसमेन्टको काम लगभग अन्तिम चरणमा पुगेपछि मुख्यमन्त्रीबाट ‘तुलसी ट्रेड टावर’को शिलान्यास गरिएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका कार्यालयको उत्तरतर्फ व्यापारिक तथा प्रशासनिक प्रयोजनका लागि ट्रेड टावर निर्माण सुरु भएको पाँच महिना भयो । गएको मंसिरदेखि सोही ठाउँमा ट्रेड टावर निर्माण सुरु भएको हो । तर, लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरीले भने अहिले बल्ल टावरको शिलान्यास गर्नुभएको छ ।

सोमबारसम्म बेस निर्माण अन्तिम चरणमा पुगिसकेको छ । त्यस अवसरमा मुख्यमन्त्री गिरीले दाङलाई पर्यटनको केन्द्रको विकास गर्न ट्रेड टावरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने दावी गर्नुभयो ।

१४ करोड ४२ लाख लागतमा बहुउद्देश्यीय व्यापारिक भवन तथा तुलसी ट्रेड टावर निर्माण हुन लागेको हो । यहाँँ लिफ्ट सहित ७ तलाको टावर निर्माण हुनेछ ।

साढे १७ मिटर लम्बाई र ३४ मिटर चौडाई रहेको टावरको निर्माण कार्य तीन वर्षमा पूरा गर्नेगरी सम्झौता भएको छ । २३ करोडमा टेन्डर आह्वान गरिएपनि समानान्तर, डायनामिक, नारायणम जेभिले भ्याट बाहेक साढे १४ करोडमा ठेक्का लिएको छ ।

कुल लागतमध्ये ७० प्रतिशत रकम नगर विकास कोषको ऋण र ३० प्रतिशत रकम तुलसीपुर उपमहानगरको लगानीमा निर्माण हुन लागेको हो ।

उपमहानगरपालिकाको उत्तरतर्फ रहेको १० कट्ठा क्षेत्रफलमा निर्माण गर्न लागिएको टावरको व्यापारिक भवनमा पार्किङदेखि विभिन्न व्यापार, बैंकिङ कारोबार, सभाहल, रेस्टुरेन्ट सञ्चालनमा आउनेछन् । भवन ०८१ चैत मसान्तसम्म सक्ने गरी सम्झौता भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *