लोप हुन थाले नदीनालामा माछा, यस्तो छ कारण (भिडियो रिपोर्टसहित)

२०७९ चैत २१ गते १८:०४
लोप हुन थाले नदीनालामा माछा, यस्तो छ कारण (भिडियो रिपोर्टसहित)

२१ चैत २०७९ धनकुटा । नेपालका विभिन्न नदीनाला तथा तालतलैयामा २ सय ३२ प्रजातिका माछा पाइन्छ । त्योमध्ये ११ प्रजातिका माछालाई व्यावसायिक रुपमा पालन गर्ने गरिन्छ । तर पछिल्लो समय माछाको संख्या घट्न थालेको छ ।

पानीमै विषादी र करेन्ट लगाएर माछा मार्न थालिएपछि खोलामा माछा पाउन छाडेको छ । यसले जलचरको एक चक्र नै समाप्त पार्ने खतरा बढेको विज्ञको आकलन छ ।

तमोर किनार अन्तर्गत धनकुटाको मुलघाटदेखि भैसेटारसम्म अधिकांश माझी सामूदायको बसोबास छ । कृषिसंगै माछा मार्नु यो समुदायको मुख्य पेसा भएपनि अहिले यो पेशा बन्द छ । तमोर नदीमा असला, कत्ले, बुदुना, काभ्रे, बाम, तिते लगायत जातका माछा पाइन्थे ।

केही वर्ष अघिसम्म यस क्षेत्रमा पर्ने याक्चना, कुसेटार, फलामेटार, भैसेटार, डिहीटार लगायत तमोर नदीमा बग्रेल्ती माछा पाइन्थे । आजकल माछा भेट्न मुस्किल छ ।

नदी नजिक बनेका ठूला आयोजना, नदीमा ढल मिसाइदिने, नदी जन्य पदार्थको दोहन लगायतका कारणले माछा घटिरहेका छन् । नदी किनारमा पानीमै विषादी र करेन्ट लगाएर माछा मार्न थालिएपछि खोलामा माछा पाउन छाडेको छ ।

माछा पारिस्थितिकी प्रणालीको एउटा महत्वपूर्ण अंग हो । खोला, नदी, पोखरी लगायतका जलीय पारिस्थितिकी प्रणालीमा माछाले प्रदुषण घटाउनेमात्र होइन, यसले पानीमा रहेको पोषण तत्वलाई जमिनसम्म ल्याउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

त्यसो त माछा तमोर नदिमा मात्र नभएर अरुण लगायत सप्तकोशीका अन्य सहायक नदी सहित सप्तकोशीमै समेत कम हुँदै गएको विज्ञको भनाइ छ । माछाको संख्या कम हुँदा यसले पारिस्थिति प्रणालीमा असर गरिरहेको छ । जसले मानव जीवनका लागि पनि जोखिम निम्त्याउन सक्ने विज्ञको चेतावनी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *