सहकारीद्वारा शेयरधनीका लागि बस्ती निर्माण (भिडियो रिपोर्टसहित)

२०७९ चैत १५ गते १८:०२
सहकारीद्वारा शेयरधनीका लागि बस्ती निर्माण (भिडियो रिपोर्टसहित)

१५ चैत २०७९ मोरङ । सहरी क्षेत्रका कतिपय सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको, सञ्चालक नै फरार रहेको जस्ता समस्या देखिएका बेला झापाको एउटा सहकारी संस्थाले शेयरधनीका लागि बस्ती निर्माण गरेको छ ।

दमक नगरपालिका ४ मा मेची बहुद्देश्यीय सहकारी संस्थाले ५७ वटा दुई तले घरको नमुना बस्ती निर्माण गरेको हो । एकीकृत बस्तीमा निर्माण गरेको घर ५६ परिवारलाई घर उपलब्ध गराइएको छ ।

मेची बहुद्देश्यीय सहकारी सहकारीले चार वर्षअघि ‘मेची सहकारी आवास’ निर्माणको तयारी गरेको थियो । कोरोना महामारीका कारण दुई वर्ष ढिलो गरी २०७८ मा सुरु गरेको निर्माण हालै सम्पन्न भएपछि ५७ वटा घर शेयरधनी सदस्यलाई हस्तान्तरण गरिएको छ । एकीकृत वस्ती विकासको अवधारणाबाट निर्माण गरिएकाले सबै खालका सुविधा घरधनीले पाउनेछन् ।

सहकारीले एक बिघा १८ कठ्ठा जग्गा खरिद गरेर घर निर्माण गर्दा २२ करोड ८३ लाख रुपैयाँ खर्च गरेको थियो । घर निर्माणको प्रस्ताव गर्दा ८० शेयरधनीले किन्ने इच्छा गरेपछि पहिले नाम लेखाएका ५६ जनालाई घर दिइएको छ । जसमा ५७ मध्ये एउटा घर भने सहकारीको प्रयोजनका लागि राखिएको छ ।

सहकारीले निर्माण गरेका घर कम्पाउण्ड वालसहित एउटै डिजाइनका छन् । दुई तले घरको मूल्य ४३ लाखदेखि ५१ लाख रुपैयाँसम्मका छन् । जग्गाको क्षेत्रफल थोरै र धेरै भएका आधारमा मूल्य कम र बढी छ । शेयर सदस्यले ऋण लिएर घर किन्न सक्ने व्यवस्था पनि छ ।

५६ मध्ये २७ परिवारले सहकारीबाट १२ प्रतिशत ब्याजदरमा २० वर्षे ऋण लिएर घर किनेका छन् । १२ लाख रुपैयाँ कट्ठाका दरले जग्गा खरिद गरेको सहकारीले दुई तले घर निर्माण गर्न प्रतिघर औसतमा ३३ लाख २५ हजार रुपैयाँ खर्च गरेको थियो । तरपनि शेयर सदस्यलाई सहकारीले बजार भाउभन्दा भाउ भन्दा करिब ४० प्रतिशत सहुलियतमा घर उपलब्ध गराएको छ ।

२०५४ सालमा स्थापना भएको सहकारीले बचत तथा ऋणको कारोबारसँगै आवास र रबर खेती पनि गर्दै आएको छ । दमक नगरपालिका ७ को १२ बिघा क्षेत्रमा पाथिभरा एग्रो टुरिजम विशिष्टीकृत सहकारी संघमार्फत सञ्चालित रबर खेतीबाट दैनिक एकसय लिटर कच्चा पदार्थ उत्पादन भइरहेको छ । १५ हजार शेयर सदस्य रहेको सहकारीले १२ वटा सेवा केन्द्रमार्फत सेवा दिइरहेको छ । ३० करोड सेयर पुँजी रहेको सहकारीले यसअघि शेयर सदस्यहरुलाई जग्गा खरिद, सिटी सफारी खरिदमा पनि सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *