चितवनको पटिहानीमा पर्यटकको आकर्षण (भिडियो रिपोर्टसहित)

२०७९ चैत १३ गते २१:०७
चितवनको पटिहानीमा पर्यटकको आकर्षण (भिडियो रिपोर्टसहित)

१३ चैत २०७९ चितवन । नेपाल आउने पर्यटकका लागि चितवन प्रमुख पर्यटकीय गन्तव्य हो । यहाँको राष्ट्रिय निकुञ्जदेखि कला, संस्कृतिप्रति पर्यटक मोहित हुने गर्दछन् ।

अहिले पर्यटकको रोजाइ पश्चिम चितवनको पटिहानी क्षेत्र पर्न थालेको छ । निकुञ्जको मुख्य ताल र घडियाल गोही अवलोकन गर्न यो क्षेत्र उत्तम गन्तव्य बन्न पुगेको छ ।

नेपाल भ्रमण वर्ष २०२० का लागि लक्षित गरेर सार्वजनिक गरिएका नयाँ पर्यटकीय गन्तव्यहरुको सूचीमा चितवनको पहिटानी पनि समावेश छ । नारायणगढबाट १४ किलोमिटर दक्षिणमा पर्ने यो क्षेत्र सूर्यास्त हेर्ने राम्रो ठाउँका रूपमा परिचित छ । भरतपुर महानगरपालिका–२२ मा रहेका वीरेन्द्रनगर मध्यवर्ती सामुदायिक र बेल्सर मध्यवर्ती सामुदायिक बन पर्यटक आकर्षणका केन्द्र बन्दै गएका छन् ।

कुनै समय राप्ती खोलाले पीडित बनाएर बस्ती समेत बस्न नसकेको क्षेत्र पर्यटकीय गन्तव्य बन्दा पटिहानीवासी खुसी छन् । २०५९ सालमा बाढीको सकसपछि खोलालाई तटबन्ध गरेसँगै पटिहानीमा चहलपहल बढ्दै गयो । अहिले करोडौं लगानीका पर्यटकीय होटल बनेका छन् ।

यो क्षेत्रमा ठूला साना गरेर २६ वटा होटल तथा रिर्सोट खुलेका छन् । पाँच लाखदेखि ५५ करोड लगानीमा होटल निर्माण गरिएको छ । २ सय ६१ जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।

वडा नम्बर २२ ले बनाएको ‘अम्ब्रेला स्ट्रीट विथ सनसेट भ्यू प्वाइन्ट’ अर्को आकर्षणको केन्द्र हो । नदीसंगै जोडिएको रमणीय ठाउँमा पुग्नेले आदिवासी थारु संस्कृतिसँगै राप्ती नदीमा डुंगा चढेर घुम्न र जिप सफारी गर्न सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *