भेरी अस्पतालमा शल्यक्रियाका लागि महिनौं कुर्नुपर्ने बाध्यता (भिडियो रिपोर्टसहित)

२०७९ चैत १३ गते १६:५३
भेरी अस्पतालमा शल्यक्रियाका लागि महिनौं कुर्नुपर्ने बाध्यता (भिडियो रिपोर्टसहित)

१३ चैत २०७९ बाँके । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नागरिकलाई आवश्यक पर्ने जटिल खालको शल्यक्रिया सेवा नेपालगञ्जको भेरी अस्पतालले दिँदै आएको छ ।

तर, पर्याप्त श्रोतसाधन नहुँदा बिरामी शल्यक्रियाका लागि महिनौं पालो कुर्न बाध्य छन् । यतिसम्म कि पित्त थैलीको शल्यक्रिया गर्नु पर्ने बिरामीले १० महिनासम्म कुर्नुपर्ने अवस्था छ ।

नेपालगञ्जको भेरी अस्पतालमा दैनिक ७ सय सम्म बिरामी उपचारका लागि पुग्छन् । अस्पतालमा बिरामीको शल्यक्रिया गरेर उपचार गर्नका लागि कन्सल्टेन्ट सर्जन २३ जना छन् । गम्भीर प्रकृतिको बिरामी भनसुन गर्दा पनि एकदेखि डेढ महिनासम्म पालो कुर्नुपर्ने परिस्थिति छ ।

भेरी अस्पतालको अप्रेशन थिएटरमा ५ वटा टेबल छन् । २ देखि ३ वटा टेबल शल्यक्रियासहितको प्रसुति सेवामा प्रयोग हुन्छ । बाँकी २ वटा टेबलमा जनरल सर्जरी, प्रसुती, हाड जोर्नी, नशा, मुत्ररोग, नाक कान घाटी रोगका बिरामीको शल्यक्रिया गर्न प्रयोग गरिन्छ ।

अस्पतालमा चिकित्सकहरुको संख्या थपिदै गए पनि त्यस अनुपातमा अप्रेसन थिएटर, पोष्टअप बेड, लगायतका साधन स्रोत र पूर्वाधार थपिएका छैनन् । अस्पताल परिसर नै करिब ३४ करोडको लागतमा २ सय ४० शय्याको सुविधा सम्पन्न भवन निर्माणाधिन छ । नयाँ भवनमा ३ शय्या क्षमताको अप्रेसन थियटर निर्माण भएपछि बिरामीलाई पालो पर्खनु पर्ने झण्झट हट्ने अनुमान छ ।

अहिले अस्पतालमा देखिएका अधिकांश समस्या ५ सय शय्याको अस्पताल बनेपछि केही हदसम्म समाधान हुने प्रशासनको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *