अस्तव्यस्त राजर्षिजनक विश्वविद्यालय (भिडियो रिपोर्टसहित)

२०७९ चैत १३ गते १६:४४
अस्तव्यस्त राजर्षिजनक विश्वविद्यालय (भिडियो रिपोर्टसहित)

१३ चैत २०७९ जनकपुरधाम । जनकपुरमा राजर्षिजनक विश्वविद्यालय स्थापनाले मध्य तथा पूर्वी तराईका जिल्लामा निरन्तर खस्कँदो शैक्षिक गुणस्तर सुधार्न महत्वपूर्ण योगदान पुग्ने धेरैको अपेक्षा थियो ।

संसदबाट विश्वविद्यालयसम्बन्धी ऐन बनेपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकै मन्त्रिपरिषद्ले २०७४ सालमा डा. भरत झालाई विश्वविद्यालयको उपकुलपति नियुक्त गर्‍यो । तर, पाँच वर्षमै विश्वविद्यालय लडखडाएको छ । अस्तव्यस्त छ । पढाइ कम तालाबान्दी बढी हुने गरेको छ । शिक्षकदेखि विद्यार्थीबाटै विश्वविद्यालय विवादको कृडास्थल बन्न पुगेको छ ।

जनकपुरधाम– ८ रामानन्दचौक स्थित राजर्षिजनक विश्वविद्यालय । शिक्षक र प्राध्यापकको हाजिरी किताबमा कसले रातो लगायो ? भन्ने विषयमा विवाद उत्पन्न भयो । प्रशासनका कर्मचारीले हाजिरी काटेको शिक्षकको आरोप छ भने प्रशासनका कर्मचारीले भने शिक्षकले नै हाजिरी काटेको दाबी गरिरहेका छन् ।

कहिले करारमा राखिएका उपप्राध्यापकहरुको आन्दोलन त कहिले विद्यार्थीहरुको आन्दोलनका कारण विश्वविद्यालय शिक्षाको नभई विवादको थलोका रुपमा परिणत हुँदै आईरहेको छ । प्राज्ञिक व्यक्ति उत्पादन गर्ने विश्वविद्यालयमा यस किसिमको दिनहुँ हुने झैझडाले यसको प्रतिष्ठा गिर्दो छ ।

११ महिनादेखि पदाधिकारीविहीन हुँदा विश्वविद्यालयको अवस्था झन जर्जर बन्दै गइरहेको छ। विश्वविद्यालयका भीसी, रजिष्ट्रार, डिन लगायतका पदाधिकारीहरु नियुक्त नभएको ११ महिना बढी भइसकेको छ। यस अघिका पदाधिकारी कार्यअवधि पूरा गरेर अवकाशसमेत पाइसकेका छन् । जिम्मेवार व्यक्ति कोही नहुँदा भगवान भरोसामा विश्वविद्यालय चलिरहेको छ ।

२०७४ साल असोज २६ मा तत्कालीन व्यवस्थापिका संसदबाट विश्वविद्यालय सम्बन्धी विधेयक पारित भएपछि मधेशमा पहिलो विश्वविद्यालय स्थापना गरियो । यो मातहत एकमात्र कलेज छ । न विश्व विद्यालयमा उच्च पदाधिकारी उपकुलपति र रजिष्टार छन् न त क्याम्पस प्रमुख नै छन् । विश्वविद्यालयबाट सेवा निवृत भएका प्राज्ञिक व्यक्तिले भने राज्यले अभिभावकत्व ग्रहण गर्न नसक्दा अवस्था यो अवस्था निम्तिएको दावी गर्छन् ।

विश्वविद्यालयमा बीएएलबी, बीबीए, बीसीए, बीएससीआईटी, बीएमएलटी, बीपीएच, एमबीएसहितका संकाय गरि अहिले कुल पाँच सय ५० विद्यार्थी अध्ययनरत छन् । स्थापना भएदेखि नै विश्वविद्यालय शिक्षाको थलोको साटो विवादको कृडास्थल बन्दै गइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *