भरतपुर महानगरपालिकाभित्रका विकास निर्माणमा नागरिक आशावादी (भिडियो रिपोर्टसहित)

२०७९ चैत १० गते १७:२४
भरतपुर महानगरपालिकाभित्रका विकास निर्माणमा नागरिक आशावादी (भिडियो रिपोर्टसहित)

१० चैत २०७९ चितवन । भरतपुर महानगरपालिकाभित्र अहिले विकास निर्माणका काम धमाधम चलिरहेको छ । दोस्रो पटक नगरप्रमुखमा निर्वाचित भएसँगै रेनु दाहालले अघिल्लो कार्यकालमा गरेका सम्झौताका कामलाई तीब्रता दिनुभएको छ ।

जताततै सडक बनिरहँदा तत्कालका लागि यात्रुलाई केही सास्ती भएपनि कालान्तरमा यसले ठूलो सहयोग गर्ने नागरिकको अपेक्षा छ ।

अहिले चितवनको भरतपुर महानगरपालिकामा सडक विस्तारका काम जोडतोडले चलिरहेको छ । पश्चिम चितवनको सडक पूर्वाधार निर्माणका लागि लागेको ८८ करोड रुपैयाँको ठेक्कामध्येको विभिन्न स्थानमा २६ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ भने १० किलोमिटर सडक निर्माणको काम हुँदैछ । दोस्रो चरणको २६ किलोमिटरमध्ये २० किलोमिटर बनिसकेको छ भने ६ किलोमिटर सडक बनिरहेको छ ।

नारायणढको पुल्चोकबाट गोन्द्राङसम्म ६ लेन सडक निर्माणको ६० प्रतिशत काम पूरा भएको छ । १ अर्ब २३ करोड रुपैयाँ लागतमा सडक निर्माण भइरहेको छ भने आँपटारीबाट केन्द्रीय बस टर्मिनलसम्म वाइपास सडकखण्ड निर्माण कार्य जारी छ ।

त्यस्तै हाकिमचोकदेखि जगतपुरसम्म दुई खण्डमा १३ किलोमिटर हुलाकी सडक विस्तार भइरहेको छ । महानगरस्तरीय आयोजनाअन्तर्गत यस आर्थिक वर्षमा मात्रै १०० किलोमिटर सडक कालोपत्रे भएको छ । महानगरीय चक्रपथको ७८ किलोमिटरमध्ये डिभिजन सडक कार्यालयले १६ किलोमिटर, सघन शहरी तथा भवन निर्माण आयोजनाले ११ किलोमिटर, प्रदेश पूर्वाधारले १० किलोमिटर र महानगरले सात किलोमिटर निर्माण गरिसकेका छन ।

भरतपुर महानगरलाई नमूना शहर बनाउने उद्देश्यले विकास निर्माणका काम अघि बढिरहेको छ । तत्कालका लागि महानगरवासीलाई समस्या भए पनि एक वर्षपछि सबैले विकासको अनुभूति गर्न सक्ने गरी काम भएको महानगरको दाबी छ ।

विकासको मेरुदण्ड सडक आए पछि स्थानीयलाई यातायातमा सहज भएको कतिपय बताउँछन् । कृषि उत्पादनमा समेत अघि रहेको भरतपुरका कृषकले यि सडकमार्फत आफ्नो उत्पादन छिटोछरितोसँग बजारसम्म पुर्याउन सहज हुने अपेक्षा गरेका छन् ।

भरतपुर महानगरपालिका, बागमती प्रदेश सरकार र सङ्घीय सरकारका विभिन्न मन्त्रालयका बजेटमा यहाँ अर्बौका काम भइरहेका हुन् । महानगर भित्रका ६ सय २२ किलोमिटर भित्री सडक कालोपत्रे भइसकेका छन् । भरतपुर महानगर आगामी पाँच वर्षभित्र एशियाली मापदण्डअनुसारको भौतिक पूर्वाधारले भरिपूर्ण नमूना शहर बन्ने दाबी महानगर नेतृत्वको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *