कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणलाई तिव्रता (भिडियो रिपोर्टसहित)

२०७९ चैत ६ गते २०:४१
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणलाई तिव्रता (भिडियो रिपोर्टसहित)

६ चैत २०७९ सुर्खेत । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणलाई तिव्रता दिइएको छ । २०४५ सालमा विस्तार गरिएको ३३ केभी प्रसारण लाइनले हालको माग धान्न नसकेपछि १३२ केभी प्रसारण लाइनको रुख कटानसँगै टावर निर्माण कार्य द्रूत गतिमा अघि बढेको छ । तर प्रसारण लाइन बनाउन जग्गा अधिग्रहण गर्ने स्थानका स्थानीयले लाइनको रुट परिवर्तनको माग र जग्गा विवादका कारण समयमै निर्माण हुनेमा संशय छ ।

३३ केभीको कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइनले हालको माग धान्न नसक्ने भएपछि वहुप्रतिक्षित १३२ केभी विद्युत प्रसारण लाइन विस्तारको योजना अघि बढाइएको थियो । निर्माणको ठेक्का पाएको भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले गत भदौमै काम सक्नुपर्नेमा आठ महिना म्याद थपेको छ ।

जसअनुसार आगामी बैशाखसम्म काम सक्नुपर्नेछ । तर, बाँकेको बैजनाथ गाउँपालिका क्षेत्रमा पर्ने ९ वटा स्थानीयले टावर राख्ने रुट परिवर्तनको माग राख्दै आएका छन् । स्थानीय जग्गा र वस्ती क्षेत्रभन्दा फरक ठाउँबाट लाइन विस्तार हुनुपर्ने स्थानीयको माग छ । सुर्खेत सवस्टेशन नजिक एउटा टावर निर्माण गर्नु पर्ने जग्गामा देखिएको विवाद अहिलेसम्म हल भएको छैन ।

५२ किलोमिटर लामो लाइनमा २६ डबल सर्किटका एङ्गल भएका १ सय ६२ वटा टावर निर्माण हुनेछन् । विवाद रहित क्षेत्रका करिव ४५ प्रतिशत फाउडेशन निर्माण सकिएको छ ।

बाँकेको कोहलपुरदेखि सुर्खेतसम्म १३ हजार ६५ रुख कटान गर्नुपर्नेमा निकुञ्ज क्षेत्र बाहेक अन्यत्र कटान प्रक्रिया अघि बढेको छ । विद्युत प्रसारण लाइनको करिव ५० प्रतिशत टावर पर्ने बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको करिव ६३ बिघा जग्गा प्रयोग गरेवापत शोधभर्ना प्रक्रिया सकिएपछि त्यस क्षेत्रमा रुख कटान र फाउण्डेशन निर्माण हुनेछ ।

१ अर्ब १४ करोड लागत अनुमान भएपनि करिव ७० करोडमा निर्माण गर्ने गरी भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले काम गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *