स्थानीय सरकारले सहयोग गरेपछि अलैँची खेती गर्न हौसए प्युठानवासी (भिडियो रिपोर्टसहित)
४ चैत २०७९ प्युठान । अलैंची पहाडी भेगमा पाइने एक महत्वपूर्ण निर्यातमुखी, औद्योगिक, नगदे एवं आयुर्वेदमा प्रयोग भएको पुरानो मसलावाली हो । १९९० सालदेखि विस्तार भएको यो खेती प्युठानमा भने १९ वर्ष अघि मात्रै सुरु गरियो ।
कालो सुनको रुपमा हेरिएको अलैँचीले प्युठानका किसानको आर्थिक अवस्था उकासिएको छ । स्थानीय सरकारले पनि खेतीमा लगानी गरिदिएपछि अहिले किसान अलैँची खेतीतर्फ हौसिएका छन् ।
झट्ट हेर्दा यो जङ्गल हो । लाग्छ यहाँ घाँस र काठका लागि प्रयोग हुने बोट बिरुवा मात्र पाइन्छ । तर, पछिल्लो समय यहाँ बहुमुल्य जडिबुटीको खेती गर्न थालिएको छ । यो प्युठानको नौबहिनी गाउँपालिका–१, स्याउलिबाङ्ग झिवाङ्गको जङ्गलमा गरिएको अलैंची खेती हो ।
यहाँका कृषकले पछिल्लो समय सक्रिय रुपमा अलैंची खेती गर्न थालेका छन् । करिब १५ देखि २० रोपनी क्षेत्रफलमा यहाँका धेरै कृषकले यसको खेती गरेका छन् ।
पूर्वी नेपालको प्रमुख नगदेबालीका रुपमा परिचित अलैंची खेतीलाई व्यावसायिक रुपमा सुरु गरिएको छ । यहाँ जिल्लामै पहिलोपटक २०६० सालदेखि अलैंची खेती सुरु गरिएको थियो । त्यसबेला जिल्ला कतैपनि यसको खेती गरिएको थिएन । सुरुमा उनीहरु २र४ घरका कृषकले मात्र खेती गर्न थालेका थिए ।
पछिल्लो समय गाउँका अरु धेरै कृषक जोडिएका छन् । रोग नलाग्दा भने वार्षिक सरदर २ देखि ३ लाखसम्म आम्दानी हुने गरेको छ । २०६० सालदेखि खेती सुरु गरेपनि बजारीकरण र रोग न्यूनीकरण गर्न भने नसकेको कृषकको गुनासो छ ।
नौबहिनी गाउँपालिका कृषि शाखाले अलैंची खेतीलाई थप व्यावसायिकरण गर्न समूह गठन समेत गरेको छ । समुहलाई बेर्ना वितरण र तालिम समेत सञ्चालन गर्ने गरिएको छ । उत्पादित अलैंची बजारीकरण गर्न शाखा आफै खटिएको छ । बस्ती पहिचान गरि उपयुक्त खेतीको विस्तार गरि कृषिमै आत्मनिर्भर गराउन थालिएको छ
प्युठानका धेरै स्थानमा अलैंची खेतीको राम्रो सम्भावना छ । किसानलाई अलैंची खेतीसम्बन्धी पर्याप्त प्राविधिक ज्ञान भने छैन । जसले गर्दा अझै विस्तारित रुपमा अलैंचीको व्यावसायिक खेती हुन सकेको छैन ।
प्रतिक्रिया