कोभिडमा सुरु गरिएको टोल शिक्षा कार्यक्रम रोल्पामा अझै प्रभावकारी (भिडियो रिपोर्टसहित)

२०७९ चैत ४ गते १७:४२
कोभिडमा सुरु गरिएको टोल शिक्षा कार्यक्रम रोल्पामा अझै प्रभावकारी (भिडियो रिपोर्टसहित)

४ चैत २०७९ रोल्पा । कोभिड रोकथामका लागि विद्यालयहरूमा क्वारेन्टिन राख्दा नियमित पठनपाठन गराउन कठिन भएपछि टोल शिक्षा कार्यक्रमको अवधारणा ल्याइयो ।

कोभिडपछि पनि स्थानीय तहहरूले यो कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । रोल्पाको त्रिवेणी गाउँपालिकामा जारी रहेको यो कार्यक्रमले बालबालिकाको सिकाइ उपलब्धी बढाउन प्रभावकारी बन्न पुगेको छ ।

निजी विद्यालय शून्य अभियानलाई प्रभावकारी कार्यान्वयन गरेको रोल्पाको त्रिवेणी गाउँपालिकाले सञ्चालन गरेको टोलशिक्षा कार्यक्रम प्रभावकारी बनेको छ । यो कार्यक्रम ती क्षेत्रका विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी लागू गरिएको हो ।

अतिरिक्त समय व्यवस्थापन गरी पठनपाठन गराउन प्रत्येक टोलमा एक–एक जना टोल शिक्षकका साथै स्पिकर र ट्याबसमेत उपलब्ध गराइएको छ । कोरोनाका कारण अस्तव्यस्त बनेको शैक्षिक गुणस्तरलाई माथि उठाउन थालिएको अभियानले बालबालिकामा राम्रो प्रभाव पार्दै गएको छ ।

गाउँपालिकाभरका ३८ विद्यालयमा सञ्चालित यो अभियानबाट बालबालिकामा शैक्षिक जागरण आएको अभिभावक स्वीकार्छन् । मोबाइल चलाउन मात्रै रुचाउने बालबालिकालाई मोबाइलमै पढाउन थालेपछि यसले बालबालिकालाई आकर्षित गरेकोमा अभिभावक खुसी छन् ।

सुरुमा टोलमै गरिने शिक्षण सिकाइ अहिले विद्यालयमा गरिन्छ । अतिरिक्त कक्षाका रुपमा सञ्चालन गरिने यसमा विभिन्न वस्तुको प्रयोगबाट व्यावहारिक अभ्यास तथा ट्याब्लेटमार्फत् हेर्ने र सुन्ने तरिकाबाट शिक्षण सिकाइ हुन्छ ।

शिक्षण सहजीकरणका लागि १ सय १० शिक्षकलाई प्रतिव्यक्ति २० हजार बराबरको ट्याब्लेट वितरण गरिएको छ । टोल शिक्षाबाट ३८ विद्यालयका २ हजार ८ सय २१ जना बालबालिका लाभान्वित भएका छन् । यो कार्यक्रम लागुभएपछि विद्यार्थीमा मात्र होइन शिक्षण सिकाइमा समेत परिवर्तन आएको छ ।

त्रिवेणी गाउँपालिका, युनिसेफ र हुरेकको सहकार्यमा सञ्चालित कोभिड –१९ शिक्षा प्रतिकार्य कार्यक्रम सुरुभएपछि गाउँमा शैक्षिक जागरण आएको गाउँपालिकाको दावी छ । शैक्षिक सुधारका लागि गाउँपालिकाले समेत राम्रो लगानी गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *