प्युठानमा बढ्यो अल्लोको प्रयोग (भिडियो रिपोर्टसहित)

२०७९ फागुन २७ गते १७:५४
प्युठानमा बढ्यो अल्लोको प्रयोग (भिडियो रिपोर्टसहित)

२७ फागुन २०७९ प्युठान । प्युठानमा केही समयअघि आफन्तलाई कोशेली उपहार र सरकारी तथा गैरसरकारी कर्मचारीको स्वागत बिदाइमा मात्र अल्लोका सामग्रीहरू प्रयोग हुँदै आएको थियो । तर अहिले अरू बेलामा पनि अल्लोका सामग्री प्रयोग हुन थालेपछि प्यूठानमा अल्लोको घरेलु उद्योग फस्टाउँदै गएको छ ।

हेर्दा बोरा जस्तो देखिने गुणकारी अल्लो समुद्र सतहदेखि १२ सय देखि ३ हजार उचाईमा पाइने गर्दछ । यसबाट कोट, आस्कोट, जुवारीकोट, टोपी, बेल्ट, झोला, पर्स जस्ता थुप्रै सामान उत्पादन हुने गरेको छ । यही उत्पादनलाई विक्री गर्न प्युठानवासी व्यवसाय नै गरिरहेका छन् ।

२०६३ सालदेखि नौबहिनी गाउँपालिका–६, बहानेमा चित्रकली बुढाले घरमाअल्लोका कपडा बनाउन सुरु गर्नुभयो । अहिले सपरिवार नै प्यूठानमा अल्लोका कपडा उत्पादन गर्न लागि परिरहेका छन् । अहिले उनीहरूलाई मेला महोत्सवमा आफ्नो उत्पादित कपडा लैजान भ्याइनभ्याई छ ।

१ लाख ५० हजार लगानीबाट सुरु गरिएको उद्योग १ करोडको हाराहारीमा पुगेको छ । उद्योग फस्टाउनमा परिवारको साथ राम्रो भएकाले वार्षिक ७० देखि ८० लाख बराबरको कारोबार हुने गरेको छ । स्थानीय तहले पनि चित्रकलीको उद्योगलाई थप विस्तार गर्न अनुदान दिएको छ भने उत्पादित वस्तुलाई विक्री गर्न सहज वातावरण निर्माण पनि गरिदिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय, प्युठानले समेत उद्योग विस्तार र उद्योगलाई थप सहजता ल्याउन आधुनिक प्रविधि समेत दिएको छ ।

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै कोरिया टेक्निकल कलेज र पोखरा विश्वविद्यालयले दुईवटा मेसिन पनि कोठे हिमाल उद्योगलाई प्रदान गरेको थियो । चित्रकली जस्ता उद्यामीले उत्पादन गरेका स्थानीय उत्पादनलाई सिको गरी स्थानीय सरकारले उद्योगलाई आधुनिक किसिमका मेसिनरी औजारको उपलब्ध गराउँदा थप उत्पादनमा टेवा पुग्ने नागरिकको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *