टीकापुर आँखा अस्पताललाई पूर्वाधार अभाव

२०७९ फागुन २५ गते ९:०४
टीकापुर आँखा अस्पताललाई पूर्वाधार अभाव

२५ फागुन २०७९ टीकापुर । विसं २०६२ देखि आँखा उपचार केन्द्रका रुपमा सेवा दिँदै आएको टीकापुर आँखा उपचार केन्द्रले अस्पतालका रुपमा सेवा दिन थालेको छ । एक महिनाअघिबाट उपचार केन्द्रमा आँखा अस्पतालको बोर्ड टाँसेर सेवा दिन थालेको हो ।

केन्द्रलाई अस्पतालमा परिणत गरिए पनि भौतिक संरचनाको अभाव भएको अस्पतालमा कार्यरत कर्मचारीको भनाइ छ । “केन्द्रका रुपमा सेवा दिइरहेको अवस्था थियो, अस्पतालमा परिणत गरेपछि भौतिक संरचनाको आवश्यक्ता छ”, नेत्र सहायक कमल साउँदले भन्नुभयो, “शल्यक्रिया भएपछि बिरामी राख्ने भवन र शय्याको अभाव छ ।” उहाँले बिरामीलाई सहज हुने गरी सेवा दिन केही भवन आवश्यक छ, स्थानीय सरकारले पहल गर्न जरुरी छ भन्नुभयो ।

“बिरामीको चाप बढी छ आवश्यक संरचनाका बारेमा यस क्षेत्रका स्थानीय सरकारले ध्यान दिन जरुरी छ”, साउँदले भन्नुभयो, “अस्पताल भएपछि मङ्गलबार र बिहीबार गरी दुई दिन आँखाको शल्यक्रिया हुने गरेको छ ।” हप्तामा दुई दिन शल्यक्रिया गर्दा पनि महिनामा एक सय ५० बढीको शल्यक्रिया हुने गरेको साउँदले जानकारी गराउनुभयो ।

अस्पतालमा दैनिक एक सय ५० देखि दुई सय आँखाका बिरामी आउने गरेका छन् । सुदूरपश्चिमको धनगढीको गेटामा पाइने सेवा कैलालीको पूर्वी भेग टीकापुरबाट पाइन थालेपछि बर्दिया र कैलालीका आधा जनताले सहजरुपमा सेवा पाउन थालेका हुन् । चौध कट्ठा जमिनमा उपचार केन्द्र सञ्चालनमा थियो त्यही भवनमा अस्पतालले सेवा दिइरहेको छ । उपचार केन्द्र अस्पतालमा परिणत भएपछि अहिले १२ जना कर्मचारी कार्यरत छन् । अस्पतालमा एक जना विशषेज्ञ, तीन जना नेत्र सहायक, एक जना दृष्टि विशेषज्ञलगायत अन्य प्राविधिक कर्मचारी कार्यरत छन् ।

उपचार केन्द्रलाई करिब एक वर्षअघि २०७८ साल पुस ६ गते अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गेटा आँखा अस्पतालले गरेको थियो । यसअघि केन्द्रका रुपमा सेवा दिँदा गेटा आँखा अस्पतालका डाक्टर केही वर्षसम्म महिनामा एकपटक र पछिल्लो समय दुईपटक शल्यक्रिया सेवा दिन टीकापुर आउने गरेका थिए । टीकापुर आँखा अस्पताल गेटा आँखा अस्पतालको शाखाकै रुपमा सञ्चालन हुने भएको छ ।

केन्द्रको स्तरवृद्धि गरेर अस्पतालका रुपमा सेवा दिन थालिएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी गराउनुभयो । “सेकेण्डरी लेबलको अस्पताल सञ्चालनमा ल्याएका छौँ, जसमा नेत्र विशेषज्ञ सेवा, आँखा शल्यक्रिया, फार्मेसी र अप्टिकल सेवा दिन थालेका छौँ”, भट्टले भन्नुभयो, “स्थानीय सरकार र प्रदेश सरकारले भवन निर्माणमा सहयोग गरिदियो भने आफ्नै भवनबाट सेवा दिन सक्ने थियौँ ।” टीकापुर आँखा अस्पताललाई भौतिक संरचना आवश्यक छ त्यसका लागि प्रदेश सरकारसँग पटकपटक प्रस्ताव पेश गरे पनि सुनुवाइ नभएको भट्टले गुनासो गर्नुभयो । उहाँले टीकापुर आँखा अस्पताल सेकेण्डरी लेबलको अस्पताल भएको भन्दै बिरामीको चापको आधारमा स्वास्थ्यकर्मी थप्दै जाने बताउनुभयो ।

टीकापुर आँखा उपचार केन्द्रका कारण यस क्षेत्रका नागरिकलाई ठूलो राहत भएको छ । आँखा उपचार गर्न धनगढी या नेपालगञ्ज जानुपर्ने बाध्यता टरेको छ । बर्दिया र कैलालीका आधा नागरिकले सेवा लिने केन्द्र अस्पतालमा परिणत भएपछि अन्य सेवा पनि सहजरुपमा पाउने भएका छन् । केन्द्रले बेलाबखत निःशुल्क शिविर सञ्चालन गर्ने गरेको छ ।

“आँखा मान्छेको महत्वपूर्ण अङ्ग हो, आँखा अस्पताल सञ्चालन भएपछि आम नागरिकलाई ठूलो राहत भएको छ”, समाजसेवी भुवनेश्वर अधिकारीले भन्नुभयो, “यस क्षेत्रका विपन्न नागरिकले सहजरुपमा सेवा लिइरहेको संस्थाका बारेमा स्थानीय जनप्रतिनिधिले चासो राख्नुपर्छ ।”

“अस्पताललाई बलियो बनाउन यस क्षेत्रका स्थानीय सरकार मिलेर अघि बढ्न जररी छ”, अधिकारीले भन्नुभयो, “विपन्न नागरिकले रु १०० मा सेवा पाइरहेका छन् यही सेवा लिन अन्यत्र जानु प¥यो भने रु एक हजार खर्च गर्नुपर्छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *