रामग्राम नगरपालिका : चुनाैती बन्दै फाेहर व्यवस्थापन (भिडियो रिपोर्टसहित)

२०७९ फागुन २२ गते १८:१८
रामग्राम नगरपालिका : चुनाैती बन्दै फाेहर व्यवस्थापन (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७९ नवलपरासी पश्चिम । गौतमबुद्धको एकमात्र अखण्डित अस्टधातु रहेको रामग्राम स्तुपको नामबाट नामकरण गरिएको नवलपरासी पश्चिमस्थित रामग्राम नगरपालिका आफैमा पर्यटकीय क्षेत्र हो । तर, फोहर व्यवस्थापन यहाँको मुख्य चुनौती बन्दै आएको छ ।

नगर क्षेत्रको फोहर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहरलाई उत्पादन विन्दूबाट वर्गीकरण गरेर व्यवस्थापनका गर्ने नीति लिएको भएपनि नदीमा फोहर फ्याकिँदा नदी मात्र नभई वरपरको वस्ती नै दुर्गन्धित बन्न पुगेको छ ।

पश्चिम नवलपरासीको पुरानो पालिका भनेर चिनिने रामग्राम नगरपालिकामा फोहर व्यवस्थापन नहुँदा नदीमा प्रदुषण बढेको छ । पालिकाले दिनहुँ निस्किने फोहर व्यवस्थापनका लागि डम्पिङ साइट नबनाउँदा रामग्राम वडा नम्बर १ का स्थानीय आजित भएका छन् ।

पालिकाले दिनहुँ निस्कने फोहरलाई विगतका वर्षदेखि नै नगरपालिकाको वडा नम्बर १ को सहुवाटिकरमा नदीको किनारमा निजी जग्गामा फाल्दै आएको छ ।

नगरपालिकाले फोहर व्यवस्थापनको उचित बिकल्प नखोज्दा फोहर सिधै नदीमा खस्दा प्रदुषण बढेको छ । नगरको फोहर वस्तीको नजिक फैलिँदा दुर्गन्ध बढेको छ । साथै खेतीयोग्य जग्गामा सिधै फालिँदा स्थानीय किसानलाई असर परेको छ ।

निजी जग्गामा अस्पतालजन्य हानिकारक फोहर, अस्पतालजन्य फोहर, मरेका चौपाया, सबै किसिमका फोहरजन्य पदार्थ व्यवस्थापन त्यहीँ हुन्छ । त्यसको दुर्गन्ध एक किलोमिटरसम्म पनि पुग्ने गरेको छ । नगरको फोहर व्यवस्थापन गर्नु नसक्नुमा जनप्रतिनिध नै दोषी रहेको स्थानीयको आरोप छ ।

अधिकांश स्थानीय तहले अहिले फोहरमैला व्यवस्थापन ऐनको कार्यान्वयन गर्न सकेका छैनन् । स्थानीय सरकारले दीर्घकालीन सोचका साथ काम गर्न नसकेको जनप्रतिनिधिकै स्वीकारोक्ति छ ।

आफ्नो नगर कस्तो बनाउने भन्ने योजना रामग्रामसँग छैन । त्यसैको उपज हो, दुर्गन्धित फोहर । बेलैमा ध्यान नदिए स्वास्थ्य समस्या विकराल बन्न सक्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *