पूर्वपश्चिम राजमार्गका अधिकांश पुल ५० वर्ष पुराना, जोखिममा यात्रु (भिडियो रिपोर्टसहित)

२०७९ फागुन २० गते १६:०७
पूर्वपश्चिम राजमार्गका अधिकांश पुल ५० वर्ष पुराना, जोखिममा यात्रु (भिडियो रिपोर्टसहित)

२० फागुन २०७९ बारा । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडक खण्डमा पर्ने पसाहा, दुधौरा र बालगंंगा खोलाका पुल जीर्ण अवस्थामा छन् ।

त्यसबाहेक अन्य खोल्सी र खहरेका छोटा पुल पनि जीर्ण र साँघुरा छन् । पूर्वपश्चिम राजमार्गका अधिकांश पुल ५० वर्ष पुराना छन् समयमा पुल मर्मत र नयाँ निर्माण नहुदा दैनिक हजारौ यात्रुहरुले समस्या खेप्नु परेको छ ।

बाराको पथलैया–निजगढ सडक खण्डमा पर्ने दुधौरा खोलामा चार लेनको पक्की पुल निर्माणमा ढिलाइ हुँदा सवारी दुर्घटना र यात्रुहरू सास्ती भोग्न बाध्य भएका छन् । तीन वर्षमा निर्माण सक्ने गरी पक्की पुल निर्माण गर्न चार वर्षअघि नै ठेक्का लिएको महादेव खिम्ती हिराजन जेभीले समयमै काम नसकेर एक वर्षको म्याद थपेको छ ।

थपेको म्याद समेत २०८० असार आउन लागेपनि काम भने सुस्त गतिमा छ । १५ करोड २३ लाख लागतमा पुल निर्माणको कम्पनीले जिम्मा लिएको हो । ८९ मिटर लम्बाई रहेको यस पुलको चौडाईं २३ मिटर रहने बताइएको छ । पाँच वर्षमा दुई पटक पुल भाँसिएपछि अहिले चार लेनको पुल निर्माण सुरु गरिएको हो ।

कामले तिब्रता पाउन नसक्दा समयमै पुल निर्माण हुनमा शंका उत्पन्न भएको छ । बर्सेनी पुल नहुदा वर्षायाममा यात्रुहरुले रात जंगल मैं बिताउँन बाध्य हुने गरेका छन् । हिउँदमा धुलोले प्रदुषण हुनुका साथै वर्षाका बेला खाल्डा खुल्डीमा पानी जम्दा र खोलाको बहाब बढ्दा घण्टौ कुर्नु पर्ने समस्या छ ।

निर्माण कम्पनीले तोकिएको समय बितेर थप एक बर्षको समय बित्न लागेपनि ३० प्रतिशत मात्रै काम गरेको छ । पुल नहुँदा खोलामा गरिएको करिव एक किलोमिटर डाइभर्सनको कच्ची बाटो प्रयोगमा छ । सम्झौता अनुसार २०७९ असार भित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने भएपनि थप गरेको एक बर्ष पुग्न लागेपनि काम भने खासै प्रगति भएको छैन ।

जीर्ण पुलबाट मोटरसाइकल र साना सवारीसाधनमा यात्रा गर्नेले अझ बढी सास्ती खेप्नुपर्छ । कतिपय बेला धेरै भार क्षमताका ठूला गाडी एकैपटक वारपार हुँदा पुलको बीचमा फस्ने गरेका छन् । त्यतिबेला घन्टौँ जाम हुने गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *