राष्ट्रपतिका दुवै उम्मेदवार विवादित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन १९ गते २१:०९
राष्ट्रपतिका दुवै उम्मेदवार विवादित (भिडियो रिपोर्टसहित)

१९ फागुन २०७९ काठमाडौं । फागुन २५ गते हुने निर्वाचनबाट मुलुकले नयाँ राष्ट्रपति पाउँदैछ । शीतल निवासमा नयाँ राष्ट्रपतिका रुपमा नेपाली कांग्रेसका पूर्वउपसभापति रामचन्द्र पौडेल वा नेकपा एमालेका वर्तमान उपाध्यक्ष सुवास नेम्वाङमध्ये एकजनाको प्रवेश निश्चित छ ।

किनकी राष्ट्रपतिमा यी दुई बाहेकको उम्मेदवारी छैन । सम्बन्धित गठबन्धन वा दलले स्वच्छ छविका भनेर प्रचार गरे पनि दुवैको विगत विवादरहित भने थिएन ।

रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ दुवैजनाको साझा धरातल हो, पूर्वसभामुख । सभामुख भएको व्यक्ति साझा चरित्रको हुनुपर्ने हो । तर दुवैजना आफ्नो कार्यकालमा सफल भए पनि विवादरहित भने हुन सकेनन् ।

२०५१ सालको मधयावधि निर्वाचनमा तनहुँ–२ बाट निर्वाचित भएपछि प्रतिनिधिसभाको सभामुख बनेका पौडेल सभामुख कार्यकालमै विवादित बन्नुभयो । तत्कालीन महाकाली सन्धीको पक्षमा रहेको नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुको पक्षधरता लिएको आरोप खेपेका पौडेलले माओवादी द्वन्द्वपछि शान्ति मन्त्री भएर पनि स्मरणीय काम गर्न सक्नु भएन ।

पदमा रहँदा कुनै गम्भीर आरोप नखेपे पनि पौडेलले प्रधानमन्त्री पदमा १७ पटक पराजित भएको ट्याग बोकिरहनु भएको छ । परिवारवाद, सानो चित्त वा लघुताभाषी नेताको रुपमा उहाँमाथि आरोप लाग्दै आएको छ ।

राष्ट्रपतिका अर्का प्रत्याशी सुवासचन्द्र नेम्वाङ पनि विवादरहित हुनुहुन्न । उहाँमाथि संविधानसभा अध्यक्ष हुँदा जनआन्दोलनसँग कुनै सरोकार नभएको धर्मनिरपेक्ष घोषणा गर्न मतियार बनेको आरोप लाग्ने गरेको छ । त्यस्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा मौन समर्थन जनाएको भन्दै उहाँको आलोचना हुने गरेको छ ।

त्यसो त पटकपटक संविधानसभा अध्यक्ष र सभामुखसमेत भइसकेका नेम्वाङ पदविहीन भएर बस्न नसक्ने नेता भएको आरोप लाग्ने गरेको छ ।

रामचन्द्र पौडेल
–२०४९ सालमा स्थानीय विकास मन्त्रीका रुपमा विवादित बनेपछि सरकारबाट बहिर्गमन
–२०५२ मा सभामुख बन्दा महाकाली सन्धीको पक्षधरता लिएको आरोप
–कालापानीबाट भारतीय फौज फिर्ता हुनुपर्ने भन्दै एमालेले संसद्मा दर्ता गराएको प्रस्तावमा छलफल छल्न संसद बैठक नै स्थगन गरेको आरोप
–२०६३ सालमा शान्ति तथा पनुर्निमाणमन्त्री बन्दा जिम्मेवारी पूरा गर्न नसकेको आरोप
–२०६७ सालमा प्रधानमन्त्री पदमा १७ पटक पराजित
–लघुताभाषी, परिवारवादी भएको आरोप
–पछिल्लो पटक पार्टी सभापति पदमा भिड्न असहज देखेपछि आफैले नेतृत्व गरेको गुट छोडेर देउवाको कित्तामा प्रवेश

सुवासचन्द्र नेम्वाङ
–संविधानसभा अध्यक्ष हुँदा जनआन्दोलनको मर्मविपरीत ‘धर्मनिरपेक्षाता’ प्रवेश गराएको आरोप
–२०७७ पुस ५ गते केपी ओलीले संसद विघटन गर्दा द्वेध चरित्र देखाएको आरोप
–पदबिहीन भएर बस्नै नसक्ने गरेको आरोप
–दुई कार्यकाल संविधानसभा अध्यक्ष र त्यसपछि सभामुख बनेलगत्तै दलको उपनेता र पछि पार्टी उपाध्यक्ष बनेको
–संविधानसभा र त्यसपछिको व्यवस्थापिकामा एमालेको पक्षधरता लिएको माओवादी आरोप

पौडेल र नेम्वाङ दुवैलाई पार्टी नेतृत्वप्रति हदभन्दा बढी बफादार भएको आरोप छ । आफ्नो पद सुरक्षित गर्न कतिपय अवैधानिक काममा समेत मौन बस्ने र नेतृत्वसामु हदैसम्म नतमस्तक हुने शैलीले राष्ट्रपति निर्वाचित भए पनि दलप्रति बफादार हुने हुन् कि भन्ने आशंका मेटिएको छैन ।

दुवै नेता लोकतन्त्र र संविधानका लागि लडे पनि व्यक्तिगत स्वार्थ पूरा गर्न र नेतृत्वको निकटमा रहिरहन उनीहरुले विर्सिएको वैयक्तिक स्वतन्त्रताको पार्टो राष्ट्रपतिका रुपमा निर्वाचित भएपछि घाँडो त बन्दैन ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *