साँगुरीगढीको प्रयास : फोहर व्यवस्थापनमा अब्बल बन्दै भेडेटार (भिडियो रिपोर्टसहित)

२०७९ फागुन १० गते १८:१०
साँगुरीगढीको प्रयास : फोहर व्यवस्थापनमा अब्बल बन्दै भेडेटार (भिडियो रिपोर्टसहित)

१० फागुन २०७९ धनकुटा । कुनै बेला नियमित फोहर नउठाउँदा दूर्गन्धित बनेको प्रदेश एकको पर्यटकीय स्थल भेडेटार अहिले भने विस्तारै फोहर व्यवस्थापनमा अब्बल बन्दै छ ।

साँगुरीगढी गाउँपालिकाले सानो टहरा बनाएर फोहर संकलन गर्न र गराउन प्रोत्साहन गरेसँगै बजार क्षेत्र सफा देखिन थालेको छ ।

पूर्वी पहाडको एक महत्वपूर्ण पर्यटकीय स्थल हो धनकुटाको भेडेटार । पर्यटकको बाक्लो उपस्थिति रहेको भेडेटारमा फोहर व्यवस्थापन चुनौती थियो । फोहर दानी राखेर व्यवस्थापन गर्ने भनिएपनि पर्यटकले फुटाइदिने, बाहिरै फोहर फालिदिने गर्दा फोहर व्यवस्थापन चुनौतिपूर्ण बनेको थियो । अहिले साँगुरीगढी गाउँपालिकाले सानो पक्की संरचना नै बनाएर फोहर व्यवस्थापन सुरु गरेको छ ।

गाउँपालिकाले युएनडिपी र नेपाल पर्यटन बोर्ड संगको साझेदरीमा गाउँपालिकाका विभिन्न ६ वटा पर्यटकीय स्थानमा फोहर व्यवस्थापन प्रणाली घर निर्माण गरेको छ । वडा नं। ६ र ८ का पर्यटकीय स्थान पाथिभरा मन्दिरको दुई स्थान पार्किङ स्थल र मन्दिर पुग्ने स्थलभन्दा अघिल्लो स्टेशन, साँगुरीगढी, पिकनिक स्पट, झण्डी डाँडा, नमस्ते झर्नामा निर्माण गरिएको छ । २१ लाखको लागतमा बनाइएका फोहर व्यवस्थापन प्रणालीले काम सुरु गरिसकेको छ ।

फोहरमैला व्यवस्थापन प्रणाली घरभित्र तीन वटा च्याम्वर ब्लक छन् । तीन च्याम्बर ब्लकमा सिसाजन्य, कागजजन्य र प्लाष्टिकजन्य पदार्थ छुट्याउने गरि बेग्लाबेग्लै छन् । यसअघि फोहर व्यवस्थापनका लागि विभिन्न ठाउँमा फोहरदानी राखिएका थिए । तर, प्रभावकारी हुन सकेको थिएन ।

हरेक च्याम्बर फोहरले भरिएपछि पछाडि रहेको ढोकाबाट निकाल्न सक्ने गरि व्यवस्था मिलाइएको छ । ती च्याम्बरमा संकलन भएको फोहरलाई हप्तामा दुई पटक गाउँपालिकाको अस्थायी फोहरमैला संकलन केन्द्रमा लगेर व्यवस्थापन गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *