शिवशिखर सहकारीले रकम फिर्ता नदिएपछि बचतकर्ताको बिचल्ली (भिडियो रिपोर्टसहित)

२०७९ फागुन १० गते १७:५७
शिवशिखर सहकारीले रकम फिर्ता नदिएपछि बचतकर्ताको बिचल्ली (भिडियो रिपोर्टसहित)

१० फागुन २०७९ धनगढी । देशभर व्यावसायिक नेटवर्क बनाउने भन्दै विभिन्न जिल्लामा शाखा विस्तार गरेको ‘शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ ले रकम फिर्ता नदिएपछि बचतकर्ताहरू विचल्लीमा परेका छन् ।

बचतकर्ता आफूले बचत गरेको पैसा फिर्ता लिन भिड लाग्न थालेपछि गत माघ २४ गतेदेखि धनगढी शाखा बन्द छ । कार्यालय नै बन्द गरेर सञ्चालक तथा कर्मचारी नै बेपत्ता भएपछि बचतकर्ताहरु निरन्तर धर्नामा छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको शिवशिखर सहकारीमा धनगढीकी राजेश्वरी चन्द महिनैपिच्छे रकम जम्मा गर्दै आउनुभएको थियो । चाहेको समयमा रकम निकाल्न पाइने र ब्याज बढी पाइन थालेपछि उहाँले निक्षेप बचत गर्न थाल्नुभयो ।

चन्दले दैनिक कारोवारसंगै सहकारीमा करिब १० लाख बराबरको निक्षेप खाता खोली रकम जम्मा गर्नुभएको थियो । चन्दले आफु मात्रै नभएर आफन्त तथा छर छिमेकीलाई पनि सहकारीमा बचत गर्न आग्रह गर्नुभएको थियो । तर सहकारीले रकम अभाव भएको भन्दै कार्यालय नै अनिश्चितकालका लागि बन्द गरेपछि अहिले उहाँ चिन्तामा हुनुहुन्छ ।

धनगढीका धेरै जनाले दैनिक मजदूरीबाट कमाई भएको रकम पनि सहकारीमा जम्मा गरेका थिए । मजदूरी गरेर दैनिक गुजरा चलाउने न्युन आर्थिक अवस्था भएका नागरिकले नखाई नलाई जम्मा गरेको रकम नपाउँदा यति बेला आक्रोशित छन् । सहकारीले अहिले सुचना टाँस गर्दै कार्यालय नै बन्द भएपछि वषौँको कमाई खेर गएको चिन्तामा बचतकर्ता छन् ।

दैनिक बचत, फिक्स बचतकर्तादेखि ठुलो रकम शेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै रकम फिर्ता लिन खोजे पनि कार्यालय नै बन्द गरेर कर्मचारी तथा सञ्चालक सम्पर्कविहीन छन् । नियमित कार्यालय खोलेर कारोबार गर्नुको साटो कार्यालय नै बन्द गरेर निक्षेपकर्तालाई सशंकित गर्ने काम गरेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पीडित संघर्ष समितिको आरोप छ ।

करिब ५ सय बचतकर्ताले सरकारलाई रकम अशुल गरिदिन आग्रह गरेका छन् । सहकारीले भने सेयर धनी र ग्राहकको रकम फिर्ता गर्न नसक्ने बताइसकेको छ । तर, सरकारले सहकारीलाई कानूनी कारवाही गर्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *