दाङको तुलसीपुरमा १४ करोडमा टावर निर्माण : उपमहानगरवासी आक्रोशित (भिडियो रिपोर्टसहित)

२०७९ फागुन ९ गते १६:५३
दाङको तुलसीपुरमा १४ करोडमा टावर निर्माण : उपमहानगरवासी आक्रोशित (भिडियो रिपोर्टसहित)

९ फागुन २०७९ दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा साढे १४ करोड लागतमा बहुउद्देश्यीय व्यापारिक भवन तथा तुलसी ट्रेड टावरको निर्माण सुरु भएको छ ।

लिफ्टसहित ७ तले टावरलाई व्यापारिक प्रयोजनका लागि बनाउन लागिएको हो । जनताको समस्या समाधानभन्दा महत्वाकांक्षी योजनामा बजेट खन्याएको भन्दै उपमहानगरवासी आक्रोशित छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका बजार क्षेत्रकै बाटो दयनीय छ । बिजुलीका पोल लथालिङ्ग छन् । नागरिकले स्तरीय शिक्षा, स्वास्थ्य सेवा, शुद्ध पिउने पानी लगायतका अत्यावस्यक सेवा पाइरहेका छैनन् । तर, जनप्रतिनिधि भने टावर ठड्याउन लागि परेका छन् ।

एउटा पालिकामा एउटा व्यापारिक भवन बनाउने सरकारको नीति अनुसार तत्कालीन नगर प्रमुख घनश्याम पाण्डेको कार्यकालमा भएको निर्णय अनुसार नै टावर निर्माण थालिएको उपमहानगरको भनाइ छ । यो टावरले बजारको प्रवर्द्धन र नगरलाई आत्मनिर्भर बनाउने उसको तर्क छ ।

उपमहानगरको कार्यालयसँगै रहेको १० कठ्ठा जग्गामा सात तले तुलसी टावरको निर्माण थालिएको छ । २७ करोड लागतमा इस्टिमेट गरिएको भवन निर्माणका लागि ७० प्रतिशत रकम नगर विकास कोषले र ३० प्रतिशत उपमहानगरपालिकाको लगानी गर्नेछ ।

अरनिको डिजाइनर्स प्रालिले बनाउने बहुउद्देश्यीय व्यापारिक भवनमा पार्किङदेखि विभिन्न व्यापार, बैङ्किङ कारोवार, सभाहल, रेष्टुरेन्ट सञ्चालन गरिने योजना बनाइएको छ । तर, नागरिकको दैनिक जीवनसँग जोडिएका समस्या समाधान गर्न छोडेर बनाइने व्यापारिक भवनले नागरिकको जीवनमा कति प्रभाव पार्ला, त्यो भने समयले देखाउला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *