‘यसरी सरकारी विद्यालयप्रति अपनत्व बढ्छ ’

२०७९ फागुन ८ गते ७:५४
‘यसरी सरकारी विद्यालयप्रति अपनत्व बढ्छ ’

८ फागुन २०७९ दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ ।

सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको हो ।

गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले आगामी शैत्रिक सत्रदेखि जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गराउने निर्णय गरेको अध्यक्ष शुक्र चुमानले बताउनुभयो । गाउँपालिकामा ३२ जनप्रतिनिधि छन् ।

आँबुखैरेनी गाउँपालिकाका छवटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब चार सय पाँच सय विद्यार्थी अध्ययनरत छन् । “सामुदायिक विद्यालयको स्तर सुधार्नुपर्छ भनेर भाषणमा त भन्छाँै, व्यवहारमा उतार्दैनौँ, अब जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाएका छौँ”, उहाँले भन्नुभयो, “यसले गर्दा सरकारी विद्यालयप्रति अपनत्व बढ्छ ।”

गाउँपालिकाले सामुदायिक विद्यालयमा अनुदानमा बस वितरणको तयारीसमेत थालेको छ । पहिलो चरणमा तीनदेखि पाँच वटा विद्यालयलाई बस हस्तान्तरण गरिने अध्यक्ष चुमानले बताउनुभयो ।

यसैबीच आँबुखैरेनी गाउँपालिका–५ को वडा भवनमा विद्यालय स्थानान्तरण गरिने भएको छ । उक्त वडाको इन्द्रदेवी आधारभूत विद्यालयको भवन जीर्ण रहेकाले वडा कार्यालयमा विद्यालय स्थानान्तरण गर्न लागिएको हो ।

सुनचाँदी पसलमा आगलागी
तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा सञ्चालित डुम्रे सुनचाँदी पसलमा आगलागी भएको छ । आइतबार राति ९ बजे पसलभित्र आगलागी भएको हो ।

स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ । आगलागीका कारण नखुलेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *