राजनीतिक हस्तक्षेपले काेसी अस्पताल लथालिङ्ग, रोकिएन मेसु परिवर्तन गर्ने होड (भिडियो रिपोर्टसहित)

२०७९ फागुन ७ गते २०:५३
राजनीतिक हस्तक्षेपले काेसी अस्पताल लथालिङ्ग, रोकिएन मेसु परिवर्तन गर्ने होड (भिडियो रिपोर्टसहित)

७ फागुन २०७९ मोरङ । कोशी अस्पतालमा सरकार तथा मन्त्री परिवर्तन भएसँगै मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन गर्ने पुरानै रोग हो । २०६१ साल यता अस्पतालमा १७ जना मेसु परिवर्तन भइसके । तर, कसैलाई पनि परिवर्तन हुनेको कारण बारे भने पत्तो हुँदैन । अस्पताल विकास समिति र मेसु नियुक्तिमा सधैँको राजनीतिक चलखेलले अस्पताल नै लथालिङ्ग बन्न पुगेको छ ।

प्रदेश १ को राजधानी विराटनगरमा रहेको ठुलो सरकारी अस्पताल कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) अहिले रविराज सिंह छन् । डा. लक्ष्मीनारायण यादव ६ महिना नपुग्दै हटाइएपछि सिंह अहिले मेसु बनेका छन् । तर, अस्पतालमा मेसु पात्रो परिवर्तन भएझैँ परिवर्तन भइरहने हुँदा उनी कति दिन मेसु हुन्छन्, टुंगो छैन । २०१८ साल यता कुल ३३ मेसु परिवर्तन भएका छन् । २०६१ सालपछि १७ जना र २०७६ सालयता मात्रै ६ जना मेसु परिवर्तन भइसके ।

२०७६ यता परिवर्तन भएका मेसुको सूचीः
– २०७६ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन खड्का नियुक्त
– २०७६ भदौ १ मा डा. गुणराज लोहनी नियुक्त
– २०७६ पुस २५ मा डा. संगीता कुशल मिश्र नियुक्त
– २०७७ असार १ मा डा. चुमनलाल दास नियुक्त
– २०७८ फागुन ५मा डा. यादवराज खरेल नियुक्त
– २०७८ भदौ मा लक्ष्मीनारायण यादव नियुक्त
– २०७९ फागुन २ मा रविराज सिंह नियुक्त

हाल नियुक्त भएका सिंह अस्पतालका जुनियर डाक्टर मानिन्छन् । अस्पतालको १० औँ तहको सर्जनलाई निमित्त मेसुको जिम्मेवारी दिइएको हो । ११ औँ तहको डाक्टर अस्पतालभित्रै हुँदा हुँदै पनि जुनियर डाक्टरलाई मेसुको जिम्मेवारी दिएपछि अस्पताल भित्र विवाद छ । यता, प्रशासन भने मेसु परिवर्तन हुनु नियमित प्रक्रिया भएको तर्क गर्छ ।

अस्पतालमा दैनिक १ हजार देखि पाँच सय बिरामीले स्वास्थ्य उपचार पाउँछन् । तीन सय शैय्याको अस्पतालमा एक दर्जन बढी विभाग छन् । तर, दरबन्दी अनुसारको चिकित्सक छैनन् । मेसुले न चिकित्सक दरबन्दी अनुसार नियुक्त गर्छन् न त अस्पतालमा देखिएका समस्या समाधान गर्छन् । अहिले अस्पतालमा १ जना चिकित्सकले ५० जना बिरामीलाई हेर्नुपर्ने अवस्था छ । उपचार गर्न पुग्ने बिरामी सन्तुष्ट कम गुनासो बढी गर्छन् ।

सङ्घीय सरकार परिवर्तन भएर स्वास्थ्य मन्त्री परिवर्तन भएपिच्छे मेडिकल सुपरिटेन्डेन्ट र अस्पताल विकास समिति परिवर्तन हुन्छ । जनताको उपचार गर्न स्थापना गरिएको कोसी अस्पतालमा एउटाले गरेको नियुक्ति अर्कोले हटाउने, जथाभाबी नियुक्ति गर्ने जस्ता रोगले आफैँ ग्रसित बनेको त्यही कार्यरत चिकित्सकहरू बताउँछन् ।

अस्पतालमा सरकारी दरबन्दीका ८० चिकित्सक र विकास समितिका २५ चिकित्सक कार्यरत छन् । सरकारी दरबन्दीका ७६ र समितिका ६५ स्टाफ नर्स सेवामा छन् । तर पनि अस्पतालका लागि जनशक्ति अपर्याप्त भएको प्रशासनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *