गाँजाको बोटबाट घर ! (भिडियो रिपोर्टसहित)

२०७९ माघ १७ गते १६:२४
गाँजाको बोटबाट घर ! (भिडियो रिपोर्टसहित)

१७ माघ २०७९ सिन्धुपाल्चोक । औषधीमात्र होइन गाँजाको रेसाबाट कपडा, झोला जस्ता सामग्री बनाउन सकिन्छ । दानाबाट अचार पनि बन्छ ।

सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र शेर्माथाङ्‍मा त एक जना स्थानीयले गाँजाको बोटबाट घर नै बनाएका छन् । २२ कोठा भएको घरमा होमस्टे संचालन गरेर त्यसलाई व्यावसायीक समेत बनाएका छन् ।

झट्ट हेर्दा ईटा, बालुवा र सिमेन्ट प्रयोग गरेर बनाएको जस्तो लाग्ने यो संरचना गाँजाको बोटबाट बनाइएको हो । घरको पिलर तथा बिमहरु सिमेन्ट, बालुवा र फलामे छडबाट बनाइएको भए पनि भित्ताहरु गाँजाको डाँठमा चुनाको घोल हालेर बनाइएको छ ।

चार तल्ला अग्लो यो घरमा शौचालय र बाथरुम बाहेक २२ कोठाहरु प्रयोगमा छन् । केहीबर्ष अघिसम्म धेरैजसो विदेशी पर्यटक पुग्ने यो ठाउँमा अहिले आन्तरिक पर्यटकको आगमन बाक्लिएको छ ।

गाँजाको बोट प्रयोग गरेर घर बनाउनुको धेरै फाइदा छ । एक त ढुंगा, ईंटाबाट बनाउनुभन्दा सस्तो पर्छ भने अर्कोतर्फ न्यानो हुन्छ । वातावरणीय दृष्टिकोणबाट पनि फाइदै फाइदा छ । गाँजाको बोटले वातावरणमा भएको कार्वन सोसेर भण्डारण गर्ने भएकाले यसले वायुमण्डलमा भएको कार्वन घटाउने विज्ञको भनाई छ ।

नेपालमा अहिले गाँजा उत्पादन तथा विक्री वितरण प्रतिबन्ध छ । तर पनि पछिल्लो समय गाँजाखेतीलाई वैधानिक बनाउनुपर्ने चर्को आवाज उठिरहेको छ । वैदिक कालदेखि नै बहुउपयोगि जडिबुटीको रुपमा प्रयोग गरिदैं आएको गाँजालाई वैधानिकता दिनुपर्ने आवाज संसदसम्म पनि पुगिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *