सरकारबाटै यसरी ठगिएका छन् उखु किसान (भिडियो रिपोर्टसहित)

२०७९ माघ १६ गते १४:०२
सरकारबाटै यसरी ठगिएका छन् उखु किसान (भिडियो रिपोर्टसहित)

१६ माघ २०७९ कैलाली । उखु किसानले उत्पादनको भुक्तानी नपाएको कुरा अब नौलो रहेन । पछिल्ला दुई वर्ष यता चिनी मिलदेखि सरकारबाटै उखु किसान ठगिएका घटना धेरै छन् ।

तर, यही समस्या बोकेर कैलालीको लम्की चुहा नगरपालिकाका किसान भने १८ वर्षदेखि बसिरहेका छन् । बासुलिङ सुगर मिल पुनः सञ्चालनमा आउला र आफ्नो भुक्तानी होला भनेर किसान आश गरिरहेका छन् । तर, अहिलेसम्म न मिल सञ्चालनमा आयो न त भुक्तानी नै ।

उहाँ रंग सुनार । कैलालीको लम्की चुहा नगरपालिकामा उखु खेती गर्नुहुन्छ । यही खेतीबाट उहाँको जीविका चल्ने गर्दछ ।

दुई दशकदेखि उखु खेती गरेपनि अहिलेसम्म उहाँले उखुबापत पाउनुपर्ने रकम भने प्राप्त गर्नुभएको छैन । उहाँ जस्तै सन्जिब चौधरीले समेत उखुको भुक्तानी प्राप्त गर्नुभएको छैन । उहाँहरू दुवैलाई बासुलिङ चिनी मिलले रकम दिनुपर्नेछ । तर, मिल बन्द भएकै १८ वर्ष भइसक्यो । न पैसा पाए न मिल नै चल्यो ।

रंग र सञ्जिब जस्ता सयौँ किसानको तीन करोड भन्दा बढी रकम बासुलिङले भुक्तानी गर्न बाँकी छ । किसानले पैसा लिन पटक पटक बासुलिङ सुगर मिल संचालक अरुण चन्द र सरकारी प्रतिनिधिलाई ताकेता गर्दा पनि गुनासो सम्बोधन हुन सकेको छैन ।

मिल सन्चालनमा ल्याए भुक्तानीका लागि केही बर्षको प्रतीक्षा गर्न किसान तयार छन् । तर, मिल सञ्चालक चन्द भने न सम्पर्कमा आउँछन् न किसानलाई आश्वासन नै दिन्छन् । पूर्व प्रधानमन्त्रीको छोरा भएकै आधारमा भुक्तानी गर्न पन्छिरहेको किसानको आरोप छ ।

विदेशी साझेदार भित्राएर मिल पुनः सञ्चालन गर्ने कुरा किसानले नसुनेका होइनन् । तर, दुई वर्षदेखि ठोस प्रगति हुन नसक्दा किसान थप चिन्तित बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *