कैलालीको गोदावरी धाममा धर्मका नाममा मनोमानी माैलाउँदै (भिडियो रिपोर्टसहित)

२०७९ माघ १४ गते २१:१२
कैलालीको गोदावरी धाममा धर्मका नाममा मनोमानी माैलाउँदै (भिडियो रिपोर्टसहित)

१४ माघ २०७९ कैलाली । कैलालीको गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक ६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशी दर्शन मकर मेला लाग्ने गरेको छ ।

पछिल्लो समय समग्र सुदूरपश्चिमकै आकर्षणको केन्द्र बनिरहेको यो धामका संरचना भने बिग्रँदै गएका छन् । प्राचीन कालदेखिको मन्दिर संरक्षणमा कसैको चासो गएको छैन ।

प्राचिन कालमै धामका रुपमा कैलालीको गोदावरी धाम चिनिन्थ्यो । स्थानीयले मन्दिरको संरक्षण गर्दै शिव भगवती मन्दिर तीर्थ धाम स्थापना गरे । प्राचिनकालमा बनेको यो मन्दिर क्षेत्रको संरक्षणमा कुनै निकायको ध्यान जान सकेको छैन ।

विभिन्न मठ मन्दिरका नाममा दजर्नौं समिति बनाएर सरकारी बजेट हालिएको छ । तर, आधा बजेटमा समितिकै पदाधिकारीले रजाइँ गर्नेबाहेक अन्य कुनै उपब्धी हुन सकेको छैन । धामभित्र रहेका करिब एक दर्जन मन्दिरका समितिले आफूखुसी काम गरिरहेको सन्त, महन्त र स्थानीयको आरोप छ । गोदावरी क्षेत्रमा धर्मका नाममा व्यापार गरिँदा पुराना मन्दिर ओझेलमा पर्दै गएका छन् ।

गोदवारी नदीको बीचमा बनाइएका संरचना नदी कटानीको जोखिममा छन् । मन्दिर संरक्षण भन्दा पनि नयाँ संरचनामा मात्रै थपिँदा त्यसको औचित्य माथि प्रश्न उठेको छ । कुनै सरकारी निकायको अनुपस्थितिकै कारण आफुखुसी मन्दिर स्थापना गर्ने र समिति बनाउने परम्पराले गोदावरी धामको अस्तित्व संकट उन्मुख छ । हाल धाम क्षेत्र भित्र ९ वटा मन्दिरका समिति बनाइएका छन् ।

प्रदेश सरकारले गोदावरी धाम धार्मिक पर्यटन बिकास बोर्ड गठन गरी यस क्षेत्रको विकास गर्नुपर्नेमा स्थानीयको जोड छ ।

मन्दिर बनाउने नाममा सरकारी बजेट ल्याउने तर व्यक्तिगत स्वार्थ पूरा गरी मन्दिर अलपत्र छोड्ने परम्पराले गोदावरीको विकास हुन सकेको छैन । तेघरीदेखि गोदावरी धामसम्म पुग्न सडक साँघुरो छ ।

गोदावरी धामको गुरुयोजनाअनुसार विकास र विस्तार गर्ने हो भने एक अर्ब बजेट आवश्यक देखिन्छ । गोदावरीको बृह्त व्यवस्थापनका लागि तीन तहकै सरकारको सहभागिता र लगानी बढाउन सके भारत लगायत हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र बन्ने स्थानीयको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *