मौलाए माफिया : भूमाफियाको नजर कालिन्जोरमा, स्थानीयलाई धम्क्याउँदै (भिडियो रिपोर्टसहित)

२०७९ माघ १० गते २१:२६
मौलाए माफिया : भूमाफियाको नजर कालिन्जोरमा, स्थानीयलाई धम्क्याउँदै (भिडियो रिपोर्टसहित)

१० माघ २०७९ काठमाडौं । भूमाफियाका कारण देशभरका सरकारी जग्गामध्ये केही व्यक्तिको नाममा गएको छ । तर, सरकारलाई त्यसको अत्तोपत्तो छैन ।

थाहा पाएको स्थानमा मालपोत र स्थानीय तहको सक्रियतामा फिर्ता ल्याइएको छ । तर, भूमाफियाको जग्गा हडप्ने प्रयास रोकिएको छैन । केही समयअघि मात्रै सर्लाहीको साविक गंगापुर सीतापुर गाविसबाट जग्गा फिर्ता ल्याइयो । तर, अहिले फेरि भूमाफियाको नजर ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरमा परेको छ । भूमाफियाले स्थानीयलाई धम्क्याइरहेका छन् ।

दृश्यमा देखिएको गाउँ सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरको हो । यस क्षेत्रलाई नेपाल सरकारको भूमिसुधार र नापी कार्यलयको रेकर्डमा खयरमारा खोर भनी उल्लेख गरिएको छ । गाउँका स्थानीयका अनुसार यस क्षेत्रमा उनीहरूको ३ पुस्ता बितिसकेको छ । तर,केही समय यता भूमाफियाको समुह आएर गाउँ भरिको जग्गा आफ्नो दावी गर्न थालेपछि उनीहरू बिचल्लीमा परेका छन् ।

गाउँमा केही दिनदेखि विभिन्न समूह आउने, नक्सा मिलाउने, फोटो खिच्ने र भिडियो बनाउने जस्ता गतिविधि गर्न थालेपछि स्थानीय सशंकित बनेका छन् । गाउँमा आउने केहीले उद्योगका लागि लगानी गर्न लागेको त केहीले जग्गा खरिद गरेको बताउने गरेका छन् । स्थानीयलाई जग्गाको लालपूर्जा आफुसँग भएको भन्दै जग्गा खाली गर्न समेत धम्क्याउने गरेका छन् । स्थानीयको पहलमा ७ जना भूमाफियालाई प्रहरीले नियन्त्रणमा लिएपनि धम्क्याउने क्रम रोकिएको छैन ।

जग्गा आफ्नो दावी गर्न आएका समुहमा बाराको जितपुर सीमरा उपमहानगरपालिका– ११, का उमाशङ्कर साह, सिरहाको कर्जन्हा नगरपालिका–१, का राहुलकुमार साह छन् । यस्तै, धनुषाको मिथिला नगरपालिका–९, का जयकुमार ठाकुर, बाराको जितपुर सीमरा उपमहानगरपालिका–१ का ज्ञानबहादुर लामिछाने रहेको स्थानीयले बताएका छन् ।

महोत्तरीको मनरा सिस्वा नगरपालिका–४, का धिरेन्द्र झा, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ का विजयकुमार साह र बाराको जितपुर सीमरा उपमहानगरपालिका–११ का विनय कुमार चौधरी रहेको उनीहरूको दावी छ । भूमाफिया समूह सवार प्रदेश ३–०१–०२२ च १८४१ नम्बरको स्कारपियो र उनीहरुको साथबाट पाँच लाख रुपैयाँ नगद सहित विभिन्न कागजात समेत बरामद भएको छ । उनीहरूलाई पक्राउ गरेर प्रहरीमा बुझाएको र सत्यतथ्य छानविन गर्न आग्रह गरिएको छ ।

यसरी एकाएक गाउँमा आईपुगेका भूमाफियाले गाउँको ६५ बिघा धन्दा धेरै जग्गा हडप्ने योजना बनाएको पाइएको छ । उनीहरूसँग भएको नक्सा सक्कल हो वा नक्कल भन्ने यकिन छैन । यता, माफियाबाट खोसिएको कागजातबारे मालपोत कार्यालयले अध्ययन गरिरहेको छ । गाउँ रहेको जग्गा सरकारी भएकोले कुनै गतिविधि नहुने मालपोत कार्यालयको दावी छ ।

यसअघि पनि सर्लाहीमै नेपाल सरकारको नाममा रहेको साबिक गंगापुर सीतापुर गाविस वडा नम्बर ६ स्थित दुई कित्तामा रहेको चलनचल्तीको मूल्यमा करिव २० करोड रुपैया पर्ने जग्गा तीनजना व्यक्तिको नाममा दर्ता कायम भएको थियो । उक्त जग्गा भूमाफियाको चङ्गुलबाट फिर्ता आयो । तर, अहिले भूमाफियाका अगाडि कसैको केही नलाग्ने हो कि भन्ने चिन्ताले कालिन्जोरवासीलाई सताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *