Main News

केपी ओलीदेखि विश्वप्रकाश शर्मासम्म-यी हुन् राजनीति हल्लाउन सक्ने झापाली नेता(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ ७ गते २१:०६
केपी ओलीदेखि विश्वप्रकाश शर्मासम्म-यी हुन् राजनीति हल्लाउन सक्ने झापाली नेता(भिडियो रिपोर्टसहित)

७ माघ २०७९ काठमाडौं । झापा जिल्लाले नेपालको हरेक राजनीतिक आन्दोलन र परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको छ ।

२०२८ सालको झापा विद्रोह होस् या २०४६ को जनआन्दोलन, झापालीको योगदान स्मरणीय नै छ । तर झापाकै कतिपय व्यक्ति निगाहकै कारणसमेत शक्तिमा पुगेको देखिन्छ । विभिन्न कालखण्डमा झापामय भएका राजकीय पदमा यसपटक कस्तो छ त झापाली प्रतिनिधित्व ?

माघ ३ गतेसम्म एमालेबाट सभामुखमा मुख्य दावेदारका रुपमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माको दाबी थियो । तर माघ ४ गते जब मनोनयनको बेला भयो, अध्यक्ष केपी शर्मा ओलीले एकाएक देवराज घिमिरेलाई तयार रहन निर्देश गर्नुभयो । झापा(२ बाट निर्वाचित घिमिरेलाई सभामुखका रुपमा न एमालेका नेताहरुले हेरेका थिए, न सत्ता गठबन्धनका अरु दलहरुले अनुमान नै । तर अध्यक्ष ओलीको एकल निर्णयमा घिमिरे नै सभामुख बन्ने पक्का भयो । त्यसका लागि न पार्टीको कुनै कमिटी बैठक बस्यो न प्रयाप्त छलफल नै । अध्यक्ष ओली दाहिना भएकै आधारमा घिमिरे सभामुख बनेको घाम जस्तै छर्लंङ्ग छ ।

झापा जिल्ला नेपालको राजनीतिमा महत्वपूर्ण योगदान दिने मध्येमा पर्दछ । यसमा कुनै विवाद भएन । अहिले नेपालको राजनीतिको दिशा परिवर्तन गर्नसक्ने ल्याकत भएका नेताहरु नै झापाबाट प्रतिनिधित्व गर्छन् । त्यसमा पनि विवाद भएन । तर नेताको निगाहबाट उच्च ओहोदामा पुग्ने अवसर पनि झापालीले नै बढी पाएको उहाहरणका रुपमा घिमिरे एक पात्र मात्रै हुनुहुन्छ। अहिले संसदको सभामुख–उपसभामुखदेखि प्रमुख दलका मुख्य नेता पनि झापाली नै छन् ।
नेपालको राजनीतिमा प्रभाव पार्ने झापाली नेताहरु को को छन् त ?

केपी शर्मा ओली
एमाले संसदीय दलका नेता, उच्चस्तरीय संयन्त्र संयोजक

विसं २०२८ सालमा भएको झापा विद्रोहले नेपालमा कम्युनिष्ट आन्दोलन र राजनीतिक चेतना जगाउने काममा प्रेरणादायी भूमिका खेलेको छ । झापा आन्दोलनको नेतृत्व गर्नेमध्येका एक एमाले अध्यक्ष ओली । संवैधानिक रुपमा तीन पटक व्यावहारतः दुई पटक देशको प्रधानमन्त्री भइसक्नुभएका ओली अहिले देशको नेतृत्वदायी भूमिकामै हुनुहुन्छ । एमाले अध्यक्षसँगै संसदीय दलको नेता र सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक पनि उहाँ नै हुनुहुन्छ ।

देवराज घिमिरे, सभामुख
सभामुख देवराज घिमिरे झापा २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुनुहुन्छ । झापा अर्जुनधारा नगरपालिका– ६ का स्थायी बासिन्दा घिमिरे प्रदेश १ का अध्यक्षसमेत हुनुहुन्थ्यो । अध्यक्ष ओलीका विश्वासपात्र घिमिरे अहिले ओलीकै आशिर्वादमा सभामुख हुनुभएको हो ।

इन्दिरा राना मगर, उपसभामुख
उपसभामुखमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद इन्दिरा रानामगर पनि झापाकै हुनुहुन्छ । बीबीसीको उत्कृष्ट प्रेरणादायी महिलाको सूचीमा समेत परेकी रानामगरलाई राष्ट्रिय स्वतन्त्र पार्टीले आदिवासी महिलातर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनाएको थियो ।

राजेन्द्र लिङ्देन, उपप्रधानमन्त्री
उपप्रधान एवं उर्जा मन्त्री राजेन्द्र लिङ्देन पनि झापाको हल्दिबारी गाउँपालिका– १ का स्थायी वासिन्दा हुनुहुन्छ । झापा जिल्ला विकास समिति सभापति समेत भइसकेका लिङ्देन प्रतिनिधिसभाको पाँचौं दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष हुनुहुन्छ । लिङदेन झापा–३ बाट लगातार दोस्रो पटक निर्वाचित हुनुभएको हो । लिङ्देनको सफलतामा कुनै न कुनै रुपमा एमाले अध्यक्ष ओलीको साथ छ ।

हिक्मत कार्की, मुख्यमन्त्री, प्रदेश–१
प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की अध्यक्ष ओलीकै निर्वाचन क्षेत्र झापा ५ (१) बाट प्रदेशसभामा निर्वाचित हुनुभएको हो । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदाएका कार्की एमाले अध्यक्ष ओलीका विश्वास पात्र समेत हुनुहुन्छ ।

देवेन्द्र दाहाल, एमाले संसदीय दलका नेता, राष्ट्रियसभा
राष्ट्रियसभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहाल पनि झापाकै हुनुहुन्छ। अध्यक्ष ओलीका विश्वास पात्र दाहालले राष्ट्रियसभामा दलको नेताको अवसर पाउनुभएको छ ।

विश्वप्रकाश शर्मा, कांग्रेस महामन्त्री
विद्यार्थी आन्दोलनबाट उदाएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पनि झापाकै स्थायी वासिन्दा हुनुहुन्छ । प्रतिनिधिसभामा झापा १ बाट निर्वाचित शर्मा कांग्रेस पार्टी र राष्ट्रिय राजनीतिमा सक्रिय हुनुहुन्छ । उदाउँदो नेताका रुपमा परिचित शर्मा भने आफ्नै बल बुतामा उदाउनु भएको हो। लगातार दुई हारपछि तेस्रो प्रयासमा सांसद भएका शर्मा पार्टीमा एक्लो प्रयासमा महामन्त्री बन्न सफल हुनुभएको थियो ।

उद्धव थापा, कांग्रेस संसदीय दल नेता, प्रदेश–१
प्रदेश(१ को मुख्यमन्त्री मात्रै नभएर प्रमुख प्रतिपक्षी दलका नेता पनि झापाकै छन् । विपक्षी दलको नेता उद्धव थापा कांग्रेस प्रदेश १ को सभापतिको समेत जिम्मेवारीमा हुनुहुन्छ ।

भक्ति सिटौला, राप्रपा संसदीय दलका नेता प्रदेश–१
प्रदेश १ को राप्रपा संसदीय दलको नेता भक्ति सिटौला पनि झापाकै हुनुहुन्छ । सिटौला झापा ४ (२) बाट प्रदेशसभामा निर्वाचित हुनुहुन्छ । उहाँ हाल प्रदेश १ सरकारको मन्त्रीका रुपमा कार्यरत हुनुहुन्छ । राप्रपा प्रदेश १ का अध्यक्ष राम थापा पनि झापाकै दमक नगरपालिका प्रमुख हुनुहुन्छ ।

केही आफ्नै क्षमतामा र केही क्षमतासँगै निगाहमा परेर भए पनि राष्ट्रिय राजनीतिमा स्थापित हुनेमा झापालीको संख्या उल्लेख्य छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *