सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भू–भागका हिमपातको सम्भावना

७ माघ २०७९ काठमाडौं । आज सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहेको छ । मधेश प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ भने देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । आगामी २४ घण्टा सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना र तराईका धेरै भू–भागहरूमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना छ ।
यसबाट बच्न आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया