नारायणी नदी : क्रुजसिपमा सरर… (भिडियो रिपोर्टसहित)

४ माघ २०७९ चितवन । पर्यटकीय हबका रूपमा विस्तार हुँदै गइरहेको चितवनमा पर्यटकका लागि अर्को आकर्षण थपिएको छ ।
नारायणी नदीमा क्रुजसिप सञ्चालन भएसँगै नेपाली पर्यटकले नेपालमा भिन्न प्रकारको अनुभव लिने मौका पाउने भएका छन् ।
नारायणी नदीमा माघ १ देखि क्रुज सिप सञ्चालनमा आएको छ । दुई तल्ले क्रुजसिपको क्षमता एक सय ८० देखि दुई सय जनासम्म छ । जहाँ मानिसले कुनै रिसोर्टमा जस्तै सेवा पाउन सक्छन् । क्रुजसिप भित्रै रेस्टुरेन्ट र बारको व्यवस्था गरिएको छ ।
खानासँगै सांगीतिक कार्यक्रम गर्ने स्थान र क्याबिनको पनि व्यवस्था छ । दुई वर्षअघि नै परीक्षण गरिएको क्रुजसिप कोभिडको महामारी र नीतिगत व्यवधानका कारण सञ्चालनमा आउन सकेको थिएन । अहिले सबै प्रक्रिया पूरा गरेर क्रुज सञ्चालनमा ल्याइएको हो ।
नारायणगढको पुलचोकबाट करिब ९ किलोमिटर दक्षिणमा रहेको काभ्रे घाटमा सिपको स्टेसन बनाइएको छ । सिपमा विवाह, पार्टी, कुनै कार्यक्रम गर्न मिल्ने गरी स्थान निर्माण गरिएको छ ।
यसमा यात्रा गर्ने यात्रुका लागि १० लाख रुपैयाँको बीमा गरिएको छ । क्रुज सीपको टिकट दर सात सय तोकिएको छ ।
ब्रेकफास्ट क्रुजिङको एक हजार पाँच सय, लन्च क्रुजिङ दुई हजार, डिनर क्रुजिङ दुई हजार पाँच सय रहेको छ । पन्ध्र करोडको लागतमा निर्माण गरिएको क्रुजसिपले चितवनको पर्यटनमा टेवा पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया