जलवायु परिवर्तनले हेलम्बूमा पारेको असर

हिमालय टिभी
२०७९ माघ २ गते १०:२८
जलवायु परिवर्तनले हेलम्बूमा पारेको असर

२ माघ २०७९ हेलम्बू । सिन्धुपाल्चोकको हेलम्बुमा जलवायु परिवर्तनको कारण हेलम्बुमा परेको असरबारे एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

हेलम्बु गाउँपालिका र साथसाथै फाउन्डेसनको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा जलवायु परिवर्तनको असर र न्यायका विषयमा छलफल गरिएको थियो । जलवायु परिवर्तनका कारण हेलम्बुलाई परेको समस्यामा न्यायका लागि गाउँपालिका र साथसाथैबीच सहकार्य गर्ने सम्झौता पनि भएको छ ।

कार्यक्रममा बोल्दै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जलवायु परिवर्तनकै कारण हेलम्बुले प्राकृतिक परिवर्तन मात्र नभई महाविपत्तिसमेत भोग्नुपरेको बताउनुभयो । ‘हेलम्बुको स्याउ भनेर परिचित यो क्षेत्रमा स्याउ फल्नै छोड्यो, लामखुट्टे लाग्न थाल्यो, हिउँ पर्नै छोड्यो, याकहरु लोप हुन थाल्यो । त्यति मात्रै होइन आजभन्दा डेढ वर्ष पहिला तेत्रो बाढी पहिरोबाट जनधनको क्षति हुँदा राज्य किन बोल्दैन ?’ उहाँले अगाडि भन्नुभयो ‘यो महाविपत्ति आउनुमा हेलम्बु को के दोष थियो ? राज्यको नीति तथा कार्यक्रममा किन समेटिएन ? हामीले कहाँबाट न्याय पाउने ?’

हेलम्बुको मुद्दा अन्तर्राष्ट्रियकरण भैसकेकाले अब न्याय पाउने कुरामा आशावादी रहेको उहाँको भनाइ थियो ।कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, वनस्पति विभागका निर्देशक डा. राधा वाग्ले, नास्ट्का पूर्व उपकुलपति डा. जिवराज पोख्रेलले जलवायु परिवर्तन सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कृषि विभागका सवनम शिवाकोटी, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. प्रभु बुढाथोकीले कार्यपत्र माथि टिप्पणी गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले यो मुद्दा सदनमा उठाउने बताउनुभयो ।

साथसाथै फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीले हेलम्बुमा जलवायु परिवर्तनको असर र न्यायका लागि गाउँपालिकासँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *