तराईमा शीतलहर : चिसोको मार गरिबमाथि प्रहार (भिडियो रिपोर्टसहित)

२०७९ पुष २५ गते १८:३१
तराईमा शीतलहर : चिसोको मार गरिबमाथि प्रहार (भिडियो रिपोर्टसहित)

२५ पुस २०७९ पर्सा । एक सातादेखिको शीतलहरका कारण तराईको जनजीवन कष्टकर बनेको छ । पर्साको वीरगञ्जमा तापक्रम एक्कासी झरेर ८ डिग्री सेल्सियसमा पुगेको छ ।

हुस्सु र चिसो हावाका कारण अधिकांश मानिस घर बाहिर निस्कन सकेका छैनन् । बजार क्षेत्र सुनसानजस्तै बनेको छ भने चिसो छल्न चोकचोकमा आगो बालिएको छ । निम्न आय भएकालाई दैनिक छाक टार्न समेत मुस्किल हुन थालेको छ ।

दुई सातादेखिको शीतलहरका कारण बढ्दै गएको चिसोले पर्साको जनजीवन नराम्ररी प्रभावित भएको छ । दिनभरि घाम नलाग्ने र सँगै चल्ने चिसो हवाका कारण सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ । दैनिक ज्यालादारी गरी परिवार पाल्नेलाई कठिनाइ भएको छ ।

बिहानको समयमा हुस्सुका कारण बाटोको पहिचान गर्नसमेत समस्या भएको छ । यातायातका साधन चलाउन कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ । चिसो बढेसँगै अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या दोब्बरले वृद्धि भएको छ ।

सर्वसधारणको चहलपहल घटेपछि रिक्सा चलाएर जीविकोपार्जन गर्नेहरू बढी मारमा परेका छन् । दैनिक दुई सयदेखि तीन सय मात्र आम्दानी हुँदा बिहान बेलुकाको छाक टार्न मुस्किल भएको छ ।

वीरगञ्ज बजारमा चहलपहल कम हुँदा जुत्ता चप्पल सिलाउनेलाई झन् समस्या भएको छ ।

चिसो बढेसँगै विभिन्न स्थानमा दाउरा बाल्ने र कम्बल वितरण गर्ने काम भइरहेको छ । अधिकांश स्थानमा प्रशासनले नै चिसो छल्न विभिन्न सहयोग गरिरहेको छ ।

एक्कासी बढेको चिसोका कारण श्वास प्रश्वासको समस्या भएका बिरामीको संख्या समेत बढेको छ । श्वासप्रश्वासको समस्या लिएर अस्पतालमा आउनेको संख्या बढेको छ । चिसोबाट बच्न न्यानो कपडा लगाउन र तातो झोलिलो पदार्थ खान सुझाव दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *