कपिलवस्तुका उखु किसानले पाएनन् ७ करोड भुक्तानी (भिडियो रिपोर्टसहित)

२०७९ पुष २४ गते १७:२५
कपिलवस्तुका उखु किसानले पाएनन् ७ करोड भुक्तानी (भिडियो रिपोर्टसहित)

२४ पुस २०७९ कपिलवस्तु । चिनी उद्योगले किसानलाई उखुको भुक्तानी समयमै दिन नसकेको कुरा कुनै नौलो होइन । तर, सरकार आफैले अनुदानबापतको रकम भुक्तानी नगर्दा उखु किसान मर्कामा परेका छन् ।

उखुको न्यूनतम मूल्य पनि नतोक्नु त्यसमाथि अघिल्लो पटकको अनुदान रकम समेत प्राप्त नगर्दा कपिलवस्तुका उखु किसान यो पटक सरकारमाथि विश्वास गर्न सकेका छैनन् । हुन पनि किसानले उखु विक्री, अनुदान र सरकारले तोकेभन्दा कम मूल्यमा किने बापत करिब ७ करोड भुक्तानी पाउन बाँकी छ ।

कपिलवस्तुका उखु उत्पादक किसानले बिक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन् । सरकारले उखुको मूल्य निर्धारण गर्दा उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने घोषणा गरेको थियो । उद्योगीबाट समयमै भुक्तानी नपाएर हैरान भएका कपिलवस्तुका उखु उत्पादक किसानलाई सरकारले समेत अनुदान रकम भुक्तानीमा आलटाल गरिरहेको छ ।

शिवराज नगरपालिका–७ जवाभारीमा रहेको महालक्ष्मी सुगर्स मिल पाँच वर्षअघि सर्लाहीमा सारिएको थियो । मिल सारियो तर किसानले अनुदान रकम पाएनन् । महालक्ष्मी सुगर्स मिलका सञ्चालक वीरेन्द्रकुमार कनौडियाले भुक्तानी नदिई आलटाल गरिरहेको किसानको आरोप छ । कनौडिया नेपाली कांग्रेसका नेता पनि हुन् । यहाँका किसानले उखु विक्री, अनुदान र सरकारले तोकेभन्दा कम मूल्यमा किने बापत करिब ७ करोड भुक्तानी पाउन बाँकी छ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका र विजयनगर गाँउपालिकाका किसान उखु खेती गर्न जाँगर चल्न छाडेको बताउँछन् । मिल सञ्चालकका कारण पीडामाथि पीडा थपिएको गुनासो गरिरहेका छन् । उखु किसानको टोली ३५ पटक काठमाडौँ आइसके । गृहदेखि अर्थ मन्त्रालयसम्म भौतारिँदा समेत कुनै सुनुवाइ नभएको उनीहरूको दुखेसो छ ।

आर्थिक वर्ष २०७१–७२ को उखु विक्री गरेको २ करोड ५० लाख बक्यौता र सरकारले प्रतिक्विन्टल २५ रूपैयाँ उखु किसानलाई दिएको अनुदान तिर्न बाँकी छ । २०७२–७३ मा सरकारले उखुको मूल्य ५ सय ३१ रुपैयाँ २० पैसा कायम गरेको थियो । कनौडियाले ४ सय ९२ रुपैयाँमा किसानबाट उखु खरिद गरेका थिए ।

५ लाख क्विन्टलको १ करोड ९६ लाख रकम पाउन बाँकी छ । प्रति क्विन्टल २५ रुपैयाँका दरले २ करोड ४८ लाख अनुदानको रकम पनि किसानले पाएका छैनन् । ८ हजार कृषकको ९ लाख ९२ हजार क्विन्टल उखुको अनुदान पाउन बाँकी छ ।

अर्थ मन्त्रालयले अनुदानको रकम महालक्ष्मी सुगर्स मिललाई भ्याटमा पाउने रकमबाट समायोजन गरी दिइसकिएको भन्दै पत्राचार गरेको छ । तर, मिल सञ्चालक कनौडियाले आफूले सरकारबाट भ्याट छुटको रकम प्राप्त गरेको र कृषक अनुदान रकम नपाएको दाबी गरेका छन् ।

कांग्रेसले प्रदेश सांसद कनौडियालाई २०७७ पुस २५ गतेभित्र किसानको रकम तिरेर केन्द्रीय कार्यालयमा जानकारी गराउन निर्देशन दिएको थियो । गत वर्ष राजधानीमा आन्दोलन गर्न पुगेका किसान र सरकारबीच ५ बुँदे समझदारी भयो । माघ ७ भित्र सबै रकम दिलाउन सरकारले सहयोग गर्ने विषयमा हस्ताक्षर भयो । तर, त्यसयता एक सुको पनि रकम पाएका छैनन् । समयमा पैसा नपाउनाले उखु किसान ऋणमा डुब्न बाध्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *