रामेछापमा बढ्यो बालुवा तस्करी (भिडियो रिपोर्टसहित)

२४ पुस २०७९ रामेछाप । मापदण्डविपरीत रामेछापका विभिन्न नदीखोलाबाट व्यापक रूपमा नदीजन्य वस्तुको तस्करी भएको छ ।
वातावरणीय प्रभाव मुल्यांकनका आधरमा स्थानीय सरकारले नदीजन्य उत्खननका लागि आह्वान गरेको ठेक्कामा कसैको निवेदन नपर्दा नदीजन्य सामग्रीको तस्करी बढेको छ । जसलाई रोक्न जनप्रतिनिधि आफै नदी किनार पुग्ने गरेका छन् ।
रामेछापको खाँडादेवी गाँउपालिकामा पर्ने सुनकोशी नदी किनारबाट नदी जन्य वस्तु अवैध रूपमा चोरी निकासी हुन थालेपछि गाँउपालिकाका अध्यक्ष आफैले वालुवा बोकेका ट्रक समाउन थालेका छन् ।
नदीजन्य वस्तु चोरी निकासी हुन थालेका कारण नदी किनारमा टेन्डर नभएर बसेका बालुवाका थुप्रा रित्तिन थालेका छन् । वर्षा याममा नदीले बाटो परिवर्तन गर्ने गरी ठूला खाल्डा समेत परेका छन् । नदी किनारमा भएको बालुवा कानुन अनुसार निकासीको लागि ठेक्का नभएको मौका छोपेर बालुवा चोरी हुने गरेको छ ।
गाउँपालिका भित्र तामाकोशी नदी किनार र सुनकोशी नदी किनारबाट दैनिक जसो राती नदी जन्य वस्तु चोरी हुन थालेपछि गाउँपालिकाका जनप्रतिनिधि नै गस्तीमा निस्कन थालेका छन् । एक हप्ता देखि गाउँपलिका अध्यक्ष, उपाध्यक्ष र प्रहरी सहितको टोलीले बालुवा चोरी गर्ने ब्यक्तिलाई नियन्त्रणमा लिन थालेको छ ।
नदीजन्य वस्तु निकासीको लागि ३ वर्ष अघि गरिएको वातावरणीय प्रभाव मुल्याङकनको समयावधि सकिएको छ । थप गर्नुपर्ने अबस्थामा गाउँपालिकाले गरेको टेन्डर आह्वानमा हालसम्म कुनै पनि कम्पनीले ठेक्का हालेका छैनन् । चोरी मौलाइरहँदा प्रहरी प्रशासन भने चुकिरहेको आरोप स्थानीयले लगाइरहेका छन् ।
प्रतिक्रिया