रेबिजविरुद्धको खोप नलगाउँदा एक महिलाको मृत्यु (भिडियो रिपोर्टसहित)

२०७९ पुष २३ गते १७:२५
रेबिजविरुद्धको खोप नलगाउँदा एक महिलाको मृत्यु (भिडियो रिपोर्टसहित)

२३ पुस २०७९ गुल्मी । ग्रामीण भेगका दुर्गम बस्तीमा अझै पनि स्वास्थ्य उपचारका लागि सरकारी भन्दा निजी मेडिकलको विश्वास गर्ने चलन छ ।

कुकुरले टोकेपछि रेबिजविरुद्धको खोप लगाउनुकोे सट्टा गाउँमै निको हुने भन्दै मेडिकलमा उपचार गराउँदा गुल्मीमा एक महिलाको मृत्यु भएको छ ।

कुकुरले टोकेपछि रेबिजविरुद्धको खोप लगाउनुपर्ने बारे सबै जानकार छन् । पछिल्लो समय स्वास्थ्य सम्बन्धी जनचेतनाका कार्यक्रममा पनि स्थानीय तहहरू आफुलाई अब्बल ठान्छन् । तर, गुल्मीको गुल्मीदरबार गाउँपालिका–६ फर्सुवामा रहेको मधुसुदन शाहको परिवारले भने कुकुरले टोक्दा समेत खोप नलगाउँदा मृत्युवरण गर्नुपरेको छ ।

निजी मेडिकलले निरन्तर अस्पतालमा गएर खोप लगाउन भनेपनि कुुकुरले टोकेर घाइते भएकी रजुन शाह मेडिकलमै उपचार गराइरहिन् । तर, पुस १२ गते उनको मृत्यु भयो । सरकारी स्वास्थ्य संस्थामा झन्झटिलो प्रक्रिया र बारम्बार जानुभन्दा गाउँकै मेडिकलमा उपचार हुनेमा विश्वास गर्दा निजको मृत्यु भयो । अहिले मेडिकल सञ्चालकले उपचारमा गल्ती गर्दा मृत्यु भएको भन्दै कारवाहीको माग गरिरहेका छन् ।

तर, बिएनसीसी मेडिकलका संचालक बकरत मियाँले भने कुकुरले टोके लगत्तै अस्पताल रेफर गरेको बताउँदै आएका छन् । बिरामी सरकारी अस्पतालमा नगई आफुसँगै आएपछि आफैले नजिकको प्राथामिक स्वास्थ्य केन्द्रसम्म पुर्‍याएको उनको भनाइ छ ।

मृतक शाहलाई कुकुरले टोकेको गुल्मी र अर्घाखाँचीको सिमाना कुमलटारीमा हो । शाहले उपचार गराउने नजिकको निजी मेडिकल बिएनसीसी नै हो भने प्राथामिक स्वास्थ्य केन्द्र पनि अर्घाखाँची कै बलकोट प्राथामिक स्वास्थ्य केन्द्र हो । केन्द्रमा उपचार गराउन गएपछि कुकुरले टोकेपछि रेबिजको खोप लगाउन रेफर गर्दै त्यसअघि लगाउने टिटानसको एक मात्रा खोप बलकोट प्राथामिक स्वास्थ्य केन्द्रले दिएको थियो ।

सरकारी स्वास्थ्य संस्था भन्दा निजी मेडिकलको भरपुर बिश्वास गर्दा घट्ने यस्ता घटना त उदाहरण मात्र हुन् । ग्रामीण भेगका सर्वसाधारणमा जनचेतनाको अभावले पनि उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *