बागलुङमा जेब्रा क्रसिङ र लाइन मार्किङ सुरु (भिडियो रिपोर्टसहित)

२०७९ पुष २० गते १६:५९
बागलुङमा जेब्रा क्रसिङ र लाइन मार्किङ सुरु (भिडियो रिपोर्टसहित)

२० पुस २०७९ बागलुङ । पैदल यात्रुलाई सडक वारपार गर्न जेब्रा क्रसिङ बनाइन्छ । तर, त्यो सडकमा भने देख्नै मुस्किल छ । मुख्य सडकमा पनि रङ खुइलिएर खुट्याउन गाह्रो पर्छ ।

जेब्रा क्रसिङमा लगाइने रङ एकाध महिना पनि टिक्दैन । चर्को घाम र वर्षाले खुइलिहाल्छन् । यात्रुलाई सडक पार गर्न समस्या भएजस्तै प्रहरीलाई पनि ट्राफिक नियम पालना गराउन सास्ती हुने गरेको छ । बागलुङमा पनि यो मुख्य समस्या हो । त्यसैलाई मध्येनजर गर्दै अहिले जेब्रा क्रसिङ र लाइन मार्किङ सुरु गरिएको छ ।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार बढीमा ६ महिनाको अन्तरालमा जेब्रा क्रसिङ रङरोगन गर्नुपर्छ । नेपालमा भने ट्राफिक लाइट भएका ठाउँमा ६ महिनाको एकचोटि र अन्यत्र वर्षको एकचोटि मात्र रङ लगाइन्छ ।

सडक वारपार गर्नै मुस्किल भएपछि बागलुङमा ट्राफिक प्रहरी स्वयं जेब्रा क्रसिङ र लाइन मार्किङ गर्न व्यस्त छ । २०७४ सालमा बागलुङका सक्रिय युवाको ग्रुप युथस अफ बागलुङ नामक टोलीले बजारका विभिन्न भिडभाड बढ्ने विभिन्न टोल तथा स्थानमा मार्क लगाएका थिए । त्यस यता जेब्रा क्रसिङ तथा लाईन मार्किङका कार्यमा सरोकारवाला निकायले चासो दिएनन् । अहिले मार्किङ सुरु हुँदा दुर्घटना कम हुने बागलुङवासीको अपेक्षा छ ।

बागलुङ नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र सडक डिभिजन कार्यालय बागलुङको समन्वयमा अहिले मार्किङ सुरु भएको छ । सदरमुकामका विभिन्न १४ वटा टोल तथा चोकका चाक्लो बाटोमा मार्किङ गरिएको छ ।

नगरपालिकाले दशरथ कन्सट्रक्सन एण्ड सप्लायर्ससँगको ठेक्का सम्झौतामा जेब्रा क्रस रंगरोगन र मार्किङ सुरु गरेको छ । सडक सुरक्षा व्यवस्थामा सहजताका लागि लगाइएका लाईन मार्कलाई प्रयोगमा ल्याउन दुर्घटनाको न्युनीकरणका विषयमा ट्राफिक शिक्षा कार्यक्रम पनि चलाइएको छ ।

जेब्रा क्रसबाटै बाटो काट्नुपर्ने भएपनि फुटपाथ नै नदेखिने समस्याका कारण पैदल यात्रु दुर्घटनामा पर्छन् । ट्राफिक प्रहरीलाई पनि जरिवाना तिराउन मुस्किल हुने गरेको छ । अब मार्किङ गर्न सुरु गरेपछि समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *