स्वचालित घन बनाउने विश्वकर्मालाई गाउँपालिकाको प्रोत्साहन

२०७९ पुष २० गते १६:३२
स्वचालित घन बनाउने विश्वकर्मालाई गाउँपालिकाको प्रोत्साहन

२० पुस २०७९ दमौली । फलाम मार हान्न स्वचालित घन बनाउने पुड्के विश्वकर्मालाई तनहुँको आँबुखैरेनी गाउँपालिकाले सम्मान गरेको छ ।

लामो समयदेखि आरन व्यवसाय सञ्चालन गर्दै आउनुभएका विश्वकर्मालाई गाउँपालिकाले नगदसहित सम्मान गरेको हो ।

चितवनको कालिका नगरपालिका–४ स्थायी ठेगाना भई हाल आँबुखैरेनी गाउँपालिका–५ बस्ने विश्वकर्मालाई गाउँपालिकाले नगद रु २० हजारसहित सम्मानपत्र प्रदान गरेको हो । परम्परागत आरनलाई आधुनिकीकरण गरी घरेलु सीपलाई उद्यममा विकास गर्न सहयोग पु¥याएबापत विश्वकर्मालाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । अध्यक्ष चुमानले भन्नुभयो, “लामो समयदेखि आरन व्यवसाय गर्दै आउनुभएका उहाँले आधुनिकीकरणमा पु¥याएको योगदानस्वरुप प्रोत्साहन गर्न नगदसहित सम्मान गरेका हौँ ।”

फलामलाई आकार दिन घन हान्न बलियो मानिस चाहिने भएकाले विकल्पका रुपमा स्वचालित घन निर्माण गरेको विश्वकर्माले जानकारी दिनुभयो । फलाम गाल्न घन हान्न कम्तीमा दुई जना मानिस चाहिने भएकाले स्वचालित घन बनाएको उहाँले बताउनुभयो । युट्युब हेरेर करिब रु ३० हजारको लागतमा स्वचालित घन बनाएको विश्वकर्माको भनाइ छ ।

विश्वकर्माका अनुसार खुट्टाले थिचेपछि स्वचालित घनले दबाब दिने र घनको चाललाई नियन्त्रण र बन्द खुट्टाबाटै गर्न सकिनेछ । आरन व्यवसाय सञ्चालन गरी विश्वकर्माले आम्दानी गर्दै आउनुभएको छ ।

आँबुखैरेनीमा घरको नक्सा निःशुल्क
आँबुखैरेनी गाउँपालिकाले घर तथा भवनको प्रस्तावित नक्शा निःशुल्क बनाउने कामको सुरुआत गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० नीति तथा कार्यक्रम अनुसार घर तथा भवनको प्रस्तावित नक्शा निःशुल्क गर्ने घोषणा गरेबमोजिम मङ्गलबारदेखि निःशुल्क नक्शा वितरण सुरु गरेको हो ।

आँबुखैरेनी गाउँपालिका–३ निवासी मनमाया थापा र अनिता थापाले पहिलो पटक उक्त सेवा लिनुभएको छ । उहाँहरुले घर निर्माणका लागि नक्शा बनाउन गाउँपालिकामा निवेदन दिएकामा गाउँपालिकाले नक्शा निर्माण गरी हस्तान्तरण गरेको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्यालले उक्त नक्शा सेवाग्राहीलाई हस्तान्तरण गर्नुभएको हो ।

नक्शा पास तथा भवनको मापदण्डमा रही नयाँ बन्ने घर तथा भवनको नक्शा गाउँपालिकाले नै निःशुल्क रुपमा बनाइदिने गाउँपालिकाका अध्यक्ष चुमानले बताउनुभयो । चुमानका अनुसार तीन तल्लासम्मको लागि गाउँपालिकाले नै नक्शा बनाइदिनेछ । नक्शा पासका लागि लाग्ने आवश्यक राजस्व भने तिर्नुपर्नेछ ।

भवन ऐन २०५५ को दफा ८ (ग) अनुसारको (ग वर्गका भवन) भूइँ तलाको क्षेत्रफल १००० वर्गफिटसम्म र उचाई तीन तलासम्म वा स्ट्रक्चलरल स्पान ४.५ मिटरभन्दा कम भएका भवनको हकमा लागू हुने गाउँपालिकाले जनाएको छ । नक्शा पास नगरी बनाइएका घर तथा भवनमा यो सेवा सुविधा लागू नहुने जनाइएको छ ।

“घर बनाउन नक्शाका लागि सर्वसाधारणले अब बाहिर कन्सल्टेन्सी धाउनुपर्दैन, गाउँपालिकामा आएर सम्पर्क गरेपछि गाउँपालिकाले आवश्यक सबै काम गरिदिन्छ,” चुमानले भन्नुभयो, “कन्स्लटेन्सीमार्फत् नक्शा बनाउँदा कम्तीमा २५÷३० हजार लाग्छ । निःशुल्क हुने भएपछि सर्वसाधारणको उक्त पैसा जोगिन्छ ।” गाउँपालिकाले ल्याएको यो सुविधाले स्थानीयवासी खुसी भएका छन् । नक्शा बनाउन कन्सल्टेन्सी धाउनुपर्ने बाध्यताबाट सर्वसाधारणले मुक्ति पाउने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *