अस्पताल कि रेफरल सेन्टर ? (भिडियो रिपोर्टसहित)

२०७९ पुष १८ गते १४:०१
अस्पताल कि रेफरल सेन्टर ? (भिडियो रिपोर्टसहित)

१८ पुस २०७९ इलाम । जिल्लाकै एकमात्र ठूलो सरकारी अस्पताल इलाममा विशेषज्ञ डाक्टर अभाव भएको वर्षौ बित्यो । डाक्टरको पदपूर्ति गर्ने विषयमा कसैको पनि ध्यान गएको छैन ।

यसै जिल्लाबाट निर्वाचन जितेर ठूला ठूला पदमा पुगिसके पनि इलाम अस्पतालको सेवा प्रवाहमा कुनै चासो देखाएनन् । जसका कारण इलामका नागरिकहरु स्तरीय स्वास्थ्य सेवा पाउनबाट बञ्चित छन् ।

५० शैयाको इलाम अस्पतालमा विरामी आक्कल झुक्कलमात्र देखिन्छन् । अस्पताल पुगेका विरामीलाई समेत अन्यत्र रेफर गरिन्छ । अस्पतालमा ९ जना बिशेषज्ञ डाक्टर सहित बिभिन्न पदका ५९ जनाको दरबन्दी छ ।

अहिले दरबन्दीका २६ जना र करारका ६१ जनाको भरमा अस्पतालले जेनतेन सेवा दिने प्रयास गरेको छ । जसका कारण बिरामीले जिल्लामा अस्पताल भएको अनुभव नै गर्न पाएका छैनन् ।

दक्ष जनशक्ति नहुँदा अधिकांश उपकरण थन्किएका छन् । विशेषज्ञ डाक्टरकै अभावका कारण अस्पतालमा बिरामीको चाप अहिले अत्यन्त कम छ । सामान्य अवस्थाका बिरामीले पनि प्रभावकारी सेवा पाउन सकेका छैनन् ।

यहाँका नागरिक सामान्य उपचार गराउनका लागि पनि महङ्गो रकम खर्चेर जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने बाध्यता छ । डाक्टर अभावकै कारण यो अस्पताल अहिले रेफरल सेन्टर जस्तै बनेको छ ।

भौगोलिक हिसाबले इलाम जिल्ला अन्य पहाडी जिल्ला भन्दा सुगम मानिएपनि नागरिकले स्वास्थ्य सेवा पाउन सकेका छैनन् । उपकरण भएपनि भिडियो एक्सरे चलाउने जनशक्ति छैन । सुत्केरी गराउनसमेत जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता छ ।

चिकित्सकको मात्र नभई यहाँ कर्मचारीको पनि अभाव छ । लेखापाल नहुँदा अस्पतालको हिसाब किताब राख्नका लागि जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रका लेखापाललाई प्रदेश लेखा नियन्त्रक कार्यालयले लेखापालको जिम्मेवारी दिएर खटाएको छ ।

२०३० सालमा १५ शैयाबाट सुरु भएको यस अस्पताल २०७२ सालबाट ५० शैयामा स्तरोन्नती भएको थियो । इलाम अस्पताल इलामका नागरिकका लागिमात्र नभई ताप्लेजुङ र पाँचथरका विरामीका लागि पनि उपयुक्त स्थल हो । तर, यहाँ जनशक्ति अभावका कारण स्तरीय सेवा दिन सकेको छैन । नागरिक सामान्य उपचारका लागि चर्को शुल्क तिर्न बाध्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *